डा. युवराज संग्रौला ।
दुई माक्र्सवादी नेताबीच सम्झौता भएछ, प्रदेशको सत्तामा साझेदारी गर्ने । सक्नुहुन्छ भने ‘अब त दुनियाँ हसाउन बन्द गर्नुहोस् ।’ यिनै हरकतले तपाईँहरु नागरिकबाट टाढा पुर्याइदियो । माक्र्सवादको स्थानीयरण किन भएन, नेपालमा ? किन गर्नु भएन ? तपाईँहरुलाई नागरिकको माया थियो ? थिएन, त्यसैले गुलेलीबाट घाइते हुनुभयो ।
१. पहिलो कुरा त तपाईँहरुले ‘गरिबका नाममा सत्ता प्रवेश गर्नुभयो, अनि समस्त काम गरिखाने, हुँदामात्र खाने र खान नपाएर मर्नेको मृत्युलाई नवउदारवादसँग साट्नु भयो र उद्योग होइन क्यासिनो खोल्नु भयो । देशको अर्थतन्त्रलाई रोजगार उत्पादन गर्ने साधन होइन नागरिकको पसिना विदेशीलाई बेचेर देशलाई कंगाल बनाउने धन्दामा बदल्नु भयो । उता त्यहाँ हिमाल पारिपटी त अर्कै छ कुरा ।
२. अहिले चीनले गरेको प्रविधिको विकास हेर्दा, आफूलाई मानिस भन्न पनि लाज लाग्छ । एकजना साथी छन्, उनी स्वास्थ उपचारका यन्त्रहरु बनाउने व्यवसाय गर्छन् । रोबर्टले मुटुको शल्यक्रिया गर्ने मेसिन, कपाल रोप्ने मेसिन, मुटुका भल्भ सफागर्ने मेसिन, आदि इत्यादि । एक पटक चार्ज गरेपछि १,००० किलोमिटर कुदने गाडी । घर सफा गर्ने रोबर्ट । प्रविधिमा गरेको उन्नतिको लेखाजोखा छैन। विश्वविद्यालय धनी छन्, शिक्षकहरू रातो दिन अनुसन्धानमा लागेका छन् । उनीहरुलाई देशलाई चाहिने ज्ञान निर्माण गर्नुछ । डिन र भिसी चाहिएको छैन । खोज्नु पर्छ त्यहाँ त । अनि अहिले युवाहरूमा बढेको माओ प्रतिको सम्मानले अचम्म पार्छ। उतिबेला बज्ने “सम्मानित माओ तपाईं हाम्रो मुटु हो“ भन्ने गीत आज युवाको मुखको गीत हो, टिकटक र वीच्याटका च्यानल्समा पनि यही छ। अनि गोङ्ग छाङ्ग दान (सबैको समृद्धिको लागि काम गर्ने साझा संगठन–जसलाई बाहिर कम्युनिस्ट पार्टी भन्छन्), र जीवनको सुरक्षा र अनुशासन । कम्रेडहरु, तपाईँहरुको पार्टी त्यस्तै हो ? एक पटक एक्लै चुपचाप समीक्षा गर्नुहोस् त के के मात्र गर्नु भएको छैन तपाईँहरुले !! त्यहाँ माक्र्सवाद माक्र्सवाद भयो तर धोकावाद भयो ? यहाँ किन सफल भएन ? दुइटा कुरा रहेछन्– त्यहाँ नेता नागरिक र देशको सेवक रहेछन् यहाँ चाहिँ खेलाडी र मालिक । त्यहाँ माक्र्सवादको सांस्कृतिकरण गरिएको रहेछ अर्थात् गोङ्ग छाङ्ग दानले त्यहाँका दर्शनलाई चिनियाँ नागरिकको ऐतिहासिक उपलब्धि मान्दोरहेछ र जनताका मनमा समाहित भएछ। त्यहाँ मौलिक धर्म अफिम होइन रहेछ ।
३. चीन आज संसारमा मनिसले प्रयोग गर्ने वस्तुको ३७% आपूर्तिकर्ता हो । युरोप, भारत र अमेरिकाले गरेको उत्पादन जोड्दा, जति हुन्छ त्यो भन्दा ज्यादा चीन एक्लै उत्पादन गर्छ। उसले आफ्नो उर्जालाई घरघरका छानामा सारी सक्यो । कृषिमा उत्पादनको क्रान्ति हेर्दा अचम्म लाग्छ। अर्थतन्त्रले नै मानिसलाई सभ्य बनाउने रहेछ।
तर त्यो छिमेकको बिज्ञान र धनको सहयोग हाम्रोमा किन हुन सकेन ? म ‘चीन दक्षिण एसिया आर्थिक विकास सहयोग’ नामको क्षेत्रीय सम्मेलनमा गएको थिएँ । उनीहरु उत्पादन साझेदारी खोजीरहेका छन् । जनसंख्या घट्दै छ । उनीहरु मीठो खाने र राम्रो लगाउने मानिस भैसके । यदि हामी हाम्रा युवालाई त्यहाँको प्रविधिमा पोख्त बनाउने शिक्षाको विकास गर्ने हो भने कति लाग्छ विकास गर्न ? तर, हाम्रो त दिमागमै फोहोर छ कि के हो ? भ्रम, गाली, रिस, पाखण्ड मात्रै !!! अब त उत्पादनका लागि ‘अभियानमा लाग्नुपर्ने होला।’ कहाँ कहाँ पढेका अर्थमन्त्री पनि देखिसकियो । अधिकार खोज्ने हिंसाको कुरा गर्छन् । यति त लेखियो, अब कमेन्टमा …. को बाहन लेख्छन् । मित्रहरू देशबासीहरु, एउटा कुरा मनन गरौं ‘हामी सांचिकै अशिक्षित र निकम्मा छौँ । हामी जान्दैनौं । हामी गफ गर्छौँ । बस, यतिनै हो हाम्रो खुबी।’ अब गरौं, सिकौं, र गरौँ ।
देशप्रति बफादार रहनु र आफ्नो श्रम र बुद्धिको खेती गर्नु नै सभ्य हुनु हो । चिनियाँ झै हामी पनि क्रान्तिलाई कृषिमा लैजाँ । यही उन्नतिलाई राजनीति ठानौं । मैले बुझेको माक्र्सवाद यही हो, मैले बुझेको लोकतन्त्र पनि यही हो । चीनमा माक्र्सवादको गफ हुन्न । बस चीनमा सुखी र उत्पादनमा नौलो कुराको गफ हुन्छ । तर सबैका पर्सको भित्रपट्टी कसैसँग माओको, कसैसँग चाओको, कसैसँग तेङ्गको, कसैसँग क्रान्तिमा मर्ने आफन्तको, कसैसँग सी को तस्बिर हुन्छ। सम्झौतामा सही गर्ने दुई नेताहरु ‘तपाईँहरुको यस्तो तस्बिर कसैका पर्समा किन छैन ?’ किनभने तपाईँले नागरिकलाई धोका दिएर सत्ता चुस्नुभयो । अब छोडिदिनुहोस् । युवाले गर्छन् ।
