डा. केसी तपाईँको कर्मप्रति सम्मान र विश्वास दुवै छ, यी मागका लागि तपाईँ अनसन बस्न पर्दैन

-गणेश कार्की ।

डा. गोविन्द केसीको अनसनका बारेमा जानकारी पाएको छु । यसबारेमा माग अनुसार आफ्नो धारणा राखेको छु ।

माग १. स्थापित नियम र मूल्य–मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्।

टिप्पणी : विश्वविद्यालयलाई अगाडि बढ्न दिऔँ । निकै त्यहाँको संरचना र त्यहाँ नागरिकले दुख पाइसके । अब फेरि त्यहि गल्ति नगरौँ । यसै पनि विश्वविद्यालयलाई रोकेर तपाईले गरेको माग ४ पुरा गर्न गाह्रो हुन्छ । तपाईकै माग ४ पुरा गर्न दशरथ चन्द मेडिकल विश्वविद्यालयलाई सञ्चालन गर्न अवरोध गर्नु हुन्न ।

माग २. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस्।

टिप्पणीः समर्थन छ । एमबिबिएसमा अझै छात्रवृत्ति आवश्यक छ । मापदण्ड नपुगेका ठाउँमा सिट थपेर सर्टिफिकेटमात्र बोकेका स्वास्थ्यकर्मी उत्पादन हुनु हुन्न । यसमा कडाइ हुनैपर्छ । यही सरकारले त्यो कडाइ गर्छ र गुणस्तरिय स्वास्थ्यकर्मी उत्पादन हुने वातावरण बनाउँछ ।

माग ३. ’राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस्।

टिप्पणीः निजी मेडिकल व्यवसायीहरूलाई लगानीको नयाँ क्षेत्र खोली अहिले भएका अस्पताल, शिक्षण अस्पताल गैरनाफामूलक बनाउँदै अन्ततः गुणस्तरीय स्वास्थ्य सबैका लागि निःशुल्क हुने दिशाउन्मुख नीति बनाउन दबाब दिनेछु भनेर मैले मेरो चुनावको वाचापत्रमा लेखेको छु । त्यसमा लगानी गर्ने नागरिकको लगानीलाई सुरक्षित गरेर, कानूनले तोकिएको नाफासमेत दिएर गैरनाफामूलक बनाउनुपर्छ । यसमा समर्थन छ ।

माग ४. सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्।

टिप्पणीः समर्थन छ ।

माग ५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।

टिप्पणीः यसको त प्रक्रिया नै सुरू भइसकेको छ । अदालती प्रक्रियामा पुगेका छन् । गरिरहेको कामलाई गर भन्नुको अर्थ बुझिन ।

प्रिय डाक्टर केसीसर, स्वास्थ्य क्षेत्रप्रतिको तपाईँको निष्ठामा अलिकति पनि शंका छैन । तपाईँको कर्मप्रति सम्मान र विश्वास दुवै छ । जे मागका लागि तपाईँ अनसन बस्नु भएको छ, ति सरकार बनेको १२० दिन भित्र भइहाल्ने कुरा होइनन् भन्ने तपाईँलाई पनि थाहा भएको हुनुपर्छ । केही समय दिनुहोला, माग पुरा हुन्छन् । यी मागका लागि तपाईँ अनसन बस्न पर्दैन । यीनै माग र आवश्यकतालाई चुनावका वाचापत्रमा लेखेर संसदमा पुगेको म र म जस्ता धेरै छौँ । वाचा बिर्सिने छैनौँ । पुरा गर्नेछौँ ।

र फेरि आग्रह गर्छु, वर्षौँसम्म भवनमात्र रहेको ठाउँमा विश्वविद्यालयको संस्थागत संरचना द्रुत गतिमा बढेको छ । कुनै पनि बहानामा यसलाई नरोकौँ । सुदुरपश्चिमलाई अब दुख नदिऔँ ।

(-कार्की, रास्वपाका सांसद हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *