नाइजेरिया । उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा बुधबार सशस्त्र बन्दुकधारी समूहले गरेको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार अधिकांश मृतक किसान रहेका छन् । पछिल्लो घटनाले वर्षौंदेखि यस क्षेत्रमा सक्रिय आपराधिक गिरोहका कारण जारी असुरक्षालाई पुनः उजागर गरेको छ ।
तलाटा माफारा स्थानीय सरकारी क्षेत्रअन्तर्गत सौना जिल्लाका काउन्सिलर नसिरु लौवालीले स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २१ जनाको मृत्यु भएको जानकारी दिए ।
यस्तै, सौना जिल्लाका सचिव अल्हाजी सेहु गर्बाले पाँचवटा गाउँलाई लक्षित गरी आक्रमण गरिएको र घटनामा २३ जनाको ज्यान गएको बताए । उनका अनुसार अधिकांश पीडित खेतमा काम गरिरहेका किसान थिए ।
आक्रमणमा घाइते भएका अन्य तीन जनालाई प्रारम्भमा तलाटा माफारा जनरल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनीहरूको अवस्था गम्भीर भएपछि थप उपचारका लागि छिमेकी सोकोटो राज्यस्थित शिक्षण अस्पतालमा सारिएको गर्बाले जानकारी दिए ।
घटनाबारे प्रतिक्रिया माग्दा नाइजेरियाली प्रहरीले तत्काल कुनै टिप्पणी गरेको छैन । उत्तरपश्चिम र मध्य नाइजेरियामा लामो समयदेखि सक्रिय ‘डाकु’ नामले चिनिने सशस्त्र आपराधिक गिरोहले गाउँमा आक्रमण, गाईवस्तु लुटपाट, सर्वसाधारणको फिरौतीका लागि अपहरण तथा सामूहिक हत्या जस्ता हिंसात्मक गतिविधि निरन्तर सञ्चालन गर्दै आएका छन् ।
यही हिंसाले ती क्षेत्रमा सुरक्षा अवस्था लगातार चुनौतीपूर्ण बनाएको छ । नाइजेरियाली अधिकारीहरू उत्तरपूर्वमा जारी जिहादी विद्रोह, अन्य क्षेत्रमा देखिएको पृथकतावादी गतिविधि तथा उत्तरपश्चिम र मध्य क्षेत्रका आपराधिक गिरोहको हिंसासँग एकैसाथ जुधिरहेका छन् ।
यद्यपि यी गिरोहहरू मुख्यतः आर्थिक लाभका लागि सक्रिय रहेको मानिए पनि केही समूह र जिहादी उग्रवादीबीच सम्बन्ध विस्तार भइरहेको हुनसक्ने चिन्तासमेत सुरक्षा विश्लेषक र सरकारी अधिकारीहरूले व्यक्त गर्दै आएका छन् ।
