सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। गाडी गुर्भाकोट–१३ का करिब ४३ वर्षीय गगन थापाले चलाएका थिए।

गाडीमा चालकसहित २० जना सवार रहेकामा चालकबाहेक अन्य १९ जना घाइते भएका हुन् । घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल, माया अस्पताल तथा मेहेलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेमा गणेश वली रियाज शाही र भावना राई रहेका छन्। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *