काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अर्को आदेश नहुँदासम्मका लागि साहलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
साहमाथि कृष्ण नगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको सामूहिक आक्रमणमा संलग्न रहेको आरोप लागेको छ । सांसद साह र कृष्ण नगर नगरपालिकाका प्रमुख रजत प्रताप साह सहितको समूहले आफ्नो घरमै आएर आफूमाथि कुटपिट गरेको भन्दै शर्माले प्रहरीमा उजुरी दिएका थिए ।
शर्माको उजुरीपछि प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको छ । साह कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
