काठमाडौँ । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ, ‘हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्न आवश्यक देखएकाले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक विदा पुनरावलोकन कार्यदल गठन गर्ने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने ।’




