फुटबलमा नयाँ युगको थालनी

-राजु सिलवाल

अन्तराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ । स्पेन तथा अर्जेन्टिनाबीच भएको फाइनल प्रतिस्पर्धामा रेफ्री स्लाभको भिन्सिकले खेल अवधिमा अनुशासन भङ्ग गरेको आधारमा देखाएका कूल सातवटा पहेँलो कार्डमध्ये सबै कार्ड अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षकले पाएका थिए । अझ अर्जेन्टिनाका इन्जो फर्नाण्डिजले दोहरो पहेँलो कार्ड पाएबापत रेफ्रीले रातो कार्ड देखाइ मैदानबाट निष्काशित गरेपछि १० खेलाडीमा सीमित हुनुपरेको साविकको विजेता अर्जेन्टिनाले हार समेत ब्यहोर्नुप¥यो तर स्पेनका खेलाडीहरुले भने खेल अवधिभर कुनै कार्ड प्राप्त नगरी अनुशासनको उच्चतम नमूना प्रस्तुत गरेका थिए ।

खेल अवधिभर विपक्षी अर्जेन्टिनाविरुद्ध पूर्ण दबाब दिन सफल स्पेनको टिमले उत्कृष्ट रणनीति प्रदर्शन गर्दै विश्व विजेता बन्न सफल भएको थियो । स्पेनका खेलाडीहरुले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलगायतका प्रभावशाली खेलाडीहरुलाई प्रारम्भदेखि अन्त्यसम्म एकोहोरो निगरानीमा राख्न सफल हुनु नै आफ्नो टिमको विजयको कारक बन्न पुग्यो । स्पेनको रक्षा पङ्क्तिदेखि अग्रपङ्क्तिका खेलाडीहरुले लगातार खेल आफ्नो नियन्त्रणमा राखिरहेको अवस्थामा अतिरिक्त समयको एक सय छ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गरेका थिए । स्पेनको टिममा खेल कुनै खेलाडी विशेषमा निर्भर नरही सामूहिक रुपमा उचित भूमिका निर्वाह हुनुले नै टिमलाई विजयको भागीदार बनाएको अनुभव गरियो ।

स्पेनको रक्षापङ्क्तिको प्रशंसा जति गरे पनि कमी हुन्छ । रक्षापङ्क्ति बलियो हुनुको कारण नै स्पेन यसपालिको विश्वकपमा सबैभन्दा कम गोल खाने उदाहरणीय टिम बन्न पुगेको छ । समूहमा चरणमा कुनै पनि गोल नखाएर अपराजित यात्रा थालेको स्पेनले क्वाटरफाइनलमा मात्र बेल्जियमको एक गोल खाएको थियो । सो खेलमा स्पेनले बेल्जियमलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । स्पेन सेमी फाइनलमा फ्रान्सलाई एक गोलका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा पुगेको थियो । स्पेनका कप्तान रोड्रीलाई विश्वकप अवधिभर उत्कृष्ट खेल प्रदर्शनका साथै टिमको सक्षम नेतृत्व गरेबापत सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डेन बल प्रदान गरिएको थियो । स्पेनकै गोलकिपर उनाई सिमोनले प्रतियोगिता अवधिभर सबैभन्दा कम गोल खाएबापत उत्कृष्ट गोल किपरका रुपमा गोल्डेन ग्लोभ प्रदान गरिएको थियो भने रक्षापङ्क्तिका कुर्बासीलाई सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भएका थिए ।

स्पेनले पहिलोपटक सन् १९३४ मा इटालीमा आयोजित दोस्रो फिफा विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिखेर स्पेन क्वाटर फाइनलसम्म पुगेको थियो । स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा एकपटक विश्वकप जितेको थियो । स्पेनले हालसम्म १७ पटक विश्वकपमा सहभागिता जनाएको भए पनि दुईपटक मात्र फाइनलमा पुग्न सफल भएको थियो । विश्वभर अत्यधिक रुचाएका खेलाडी नियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना विश्वकपमा अनवरत यात्राको क्रममा साबिकको विजेताबाट उपविजेतामा खुम्चनुप¥यो । अर्जेन्टिनाको पराजयको कारणमा आक्रामक खेल खेल्न नसक्नु नै देखियो । अग्रपङ्क्तिका खेलाडीहरुले विपक्षीको गोल पोष्टमा आक्रमक रुपमा अघि बढ्न खासै अवसर जुटाउन सकेनन । सामान्य पासिङमा समेत तालमेल मिल्न सकेको थिएन । विशेषतः स्पेनको तुलनामा अर्जेन्टिना कमजोर देखिएको थियो ।

अर्जेन्टिना यसपटक सातौँ चोटी विश्वकप फुटबलको फाइनलको यात्रा निरासामा परिणत भएको छ । अर्जेन्टिनाले विश्वकप फुटबलमा पहिलो प्रतियोगितादेखि लगातार सहभागिता जनाउँदै आइरहेको हो । सन् १९७८ मा पहिलोपटक आफ्नै गृहमैदानमा नेदरल्याण्डसलाई पराजित गर्दै विश्वकप जितेको अर्जेन्टिनाले सन् १९८६ मा तत्कालीन पश्चिम जर्मनीलाई हराएर उपाधि कब्जा गरेको थियो । त्यतिखेर अर्जेन्टिनाका कप्तान डियगो म्याराडोनाले इङ्गल्याण्डविरुद्ध गरेका आकर्षक गोललाई शताब्दीकै उत्कृष्ट गोल मान्ने गरिएको छ । सन् २०१४ को विश्वकपमा फाइनलमा पुगेर पनि जर्मनीसँग पराजित भएको अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा सन् २०२२ मा फ्रान्सलाई हराएर ३६ वर्षपछि पुनः उपाधि जित्न सफल भएको थियो । अर्जेन्टिना इङ्गल्याण्डलाई सेमीफाइनलमा एक गोलका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा पुगेको थियो ।

अर्जेन्टिनाले विश्वकपका प्रारम्भिक चरणदेखि नै लगातार जित हात पार्दै विशिष्ट पहिचान बनाउन सफल भएको थियो । समूह चरणको कुनै पनि खेलमा पराजय नभोगेको अर्जेन्टिनाले त्यसपछिका नकआउट चरणमा पनि लगातार जित हासिल गर्दै सहजै अन्तिम खेलसम्म पुग्न सक्यो । मेस्सीले यसपालिको विश्वकपमा अल्जेरियाविरुद्ध पहिलो ह्याट्रिक गर्ने खेलाडीका रुपमा कीर्तिमान स्थापित गरेका थिए । विश्वकप अवधिभर उनले कूल आठ गोल गरेका थिए ।

करोडौँको पुरस्कार

यसपटकको विश्वकपमा सन् २०२२ को विश्वकपको तुलनामा पुरस्कारको राशिमा वृद्धि गरिएको थियो । फिफाले हालसम्मकै सर्वाधिक राशि पुरस्कारको व्यवस्था गर्दै कूल पुरस्कारका लागि ८७ करोड १० लाख अमेरिकी डलर छुट्याएको थियो । विश्वकप विजेता टिमले पुरस्कारबापत पाँच करोड डलर पाएका छन् । यसअघि कतारमा विश्वकप विजेता टिम अर्जेन्टिनाले चार करोड २० लाख डलर पुरस्कार पाएको थियो । यसपालिको दोस्रो टिमले तीन करोड ३० लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो टिमका लागि दुई करोड ९० लाख डलर तथा चौथो टिमका लागि दुई करोड ७० लाख डलर पुरस्कारको व्यवस्था रहेको छ ।

फिफाले विश्वकपको तयारीका लागि ४८ वटा प्रत्येक टिमलाई १५ लाख डलर प्रदान गरेको थियो । त्यस्तै क्वाटरफाइनल पुगेका प्रत्येक टोलीले एक करोड ९० लाख डलर पाएका थिए । यसअघि समूह चरण खेलेका प्रत्येक टोलीले ९० लाख डलर, राउण्ड अफ बत्तीसमा पुगेका प्रत्येकलाई एक करोड १० लाख डलर तथा राउण्ड अफ सोह्र पुगेका प्रत्येक टिमले एक करोड ५० लाख डलर प्राप्त गरेका थिए ।

असम्भव गोल

विश्वकपका सन्दर्भमा थुप्रै गोल भएका छन् जसले फुटबलको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको छ तर केही यस्ता गोल पनि भएका छन् जुन गोललाई स्वयं फुटबल विज्ञहरुले पनि असम्भव गोल मानेका छन् । फिफाले नर्वेका एन्टोनियो नुसाले इङ्गल्याण्डविरुद्ध गरेको गोललाई असम्भव गोलका रुपमा मनोनयन गरेको छ । उनले नर्वेका गोलकिपर जोर्डन पिकफोर्डलाई झुक्याउँदै बक्सको कठिन कुनाबाट स्पिन गराउँदै सिधै गोलपोष्टको जालीभित्र छिराएर गोल गरेका थिए ।

केप भर्डे टिमका रक्षापङ्क्तिका खेलाडी सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध अतिरिक्त समयमा गरेको गोललाई पनि यो प्रतियोगिताको कठिन गोल मानिएको छ । अर्जेन्टिनाका जुलियन अल्भारेजले स्विजरल्याण्डलाई अतिरिक्त समयमा बक्स बाहिरैबाट प्रहार गरेको बल गोलमा परिणत गरेर सबैलाई चकित बनाइदिएको थिए ।

सर्वाधिक गोलकर्ता

फ्रान्सका स्ट्राइकर एम्बाप्पेले फ्रान्सलाई उपाधि दिलाउन नसके पनि विश्वकपको इतिहासमै सर्वाधिक गोल गरेको कीर्तिमानसहित गोल्डेन बुट जितेका छन् । उनले विभिन्न विश्वकपमा गरी हालसम्मकै सबैभन्दा बढी २२ वटा व्यक्तिगत गोल गरेका छन् । उनले यसपटकको विश्वकपमा मात्र १० गोल गरेका थिए । उनले पछिल्लो दुई गोल इङ्गल्याण्डविरुद्ध गरेका थिए तर सो खेलमा फ्रान्स चार गोलका विरुद्ध छ गोलले हार्न पुगेको पुगेको थियो ।

मैदानमा रुवावासी

विश्वकप फुटबल प्रतियोगितामा पराजय भइसकेपछि विभिन्न टिमका खेलाडीहरुको रुवावासी साँच्चिकै नरमाइलो क्षण बन्न पुगेको थियो । हालसम्मका सबै विश्वकपमा भाग लिई पाँचपटक उपाधि जितिसकेको ब्राजिलको हारले समर्थकहरुलाई ज्यादै निरास बनाएको थियो । ब्राजिलका विश्व प्रसिद्ध खेलाडी नेयमार आफ्नो टिम विश्वकपबाट बाहिरिएको अवस्थामा रोएको क्षण अत्यन्त नरमाइलो थियो । घाइते भएर लामो समयसम्म मैदानबाट बाहिर रहेका नेयमार विश्वकपको प्रतिस्पर्धामा फर्किदा पनि रोएको देखिएको थियो । पछिल्लो पराजयपछि नेयमारजस्ता प्रभावशाली खेलाडीलाई आगामी दिनका महत्वपूर्ण प्रतियोगितामा देख्न पाइने हो कि होइन फुटबल समर्थकहरुमा चिन्ता थपिएको छ ।

अधुरो सपना

यसपटकको विश्वकप आफ्नो अन्तिम विश्वकप हुने सार्वजनिक घोषणा गरिसकेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको आफ्नो मुलुकलाई एकपटक विश्वकपको उपाधि दिलाउने सपना पूरा हुन सङ्केन । रोनाल्डोले आफूले खेलेका छवटै विश्वकपमा लगातार गोल गर्न सफल भई विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको रुपमा कीर्तिमान कायम गरे तापनि आफ्नो टिमलाई विश्व विजेता बनाउने सपना भने पूरा गर्न सकेनन् ।

विश्वकपमा उनको कूल गोल सङ्ख्या ११ पुगेको छ । उनले यसअघि युरोकप, नेशन्स लिग, च्याम्पियन्स लिगजस्ता महत्वपूर्ण फुटबल प्रतियोगिता जिते पनि विश्वकपमा नकआउट चरण जित्न त्यति सहज हुन सकेन । पोर्चुगलले विश्वकपमा हालसम्म तेस्रो स्थानभन्दा ठूलो उपाधि जित्न सकेको छैन ।

उदाहरणीय टिम

अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले पहिलोपटक विश्वकपमा छनोट भएर पनि सबैको मन जित्न सफल भयो । करिब पाँच लाख ६० हजार जनसङ्ख्या भएको सानो राष्ट्रको टिमले अन्य टिमलाई दिएको चुनौती प्रशंशनीय थियो । अर्जेन्टिनाजस्तो बलियो टिमलाई अतिरिक्त समयसम्म चुनौती दिनसक्नु यो टिमको सानो सफलता थिएन । अन्तिममा पनि आत्मघाती गोलका कारण यो टिम बाहिरिएको थियो । यसअघि स्पेनसँग गोलरहित बराबरी खेलेर केपभर्डेले विश्वकै ध्यान आफ्नो टिमतर्फ केन्द्रित गरेका थिए । केपभर्डे टिमले खेलेका सबै खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै धेरै गोल बचाएर केप भर्डे टिमका ४० वर्षीय गोलकिपर भोजिन्हा उदाहरणीय खेलाडी बन्न पुगेका थिए ।

‘तिमीलाई सम्झिरहनेछौँ’

विश्वकपमा खेल कौशल प्रदर्शन गरेर दर्शकहरुलाई प्रभावित बनाएका एक खेलाडीलाई प्रतियोगिता समाप्त नहुँदै गुमाउनुपर्दा फुटबलप्रेमीहरु अत्यन्त दुःखित भएका थिए । दक्षिण अफ्रिकाका एकजना खेलाडीले पराजयपछि घर फर्किएलगत्तै मृत्युवरण गरेको समाचारले सबैलाई स्तब्ध बनायो । दक्षिण अफ्रिकालाई पहिलोपटक विश्वकपको नकआउट चरणमा लैजान महत्वपूर्ण भूमिका खेलेका २५ वर्षीय खेलाडी जेडेन एडम्सको आफ्नो गृह मुलुकमा फर्केलगत्तै दुःखद् निधन भएपछि विश्वकपका खेलमा खेलाडीहरुले मौनधारण गरेका थिए । केपटाउनस्थित निजी निवासमा उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।

विश्वकपमा प्रतिस्पर्धा गरिरहँदा उनकी हजुरआमाको निधन भएको भए पनि उनले राष्ट्रको लागि खेललाई निरन्तरता दिएका थिए । विश्वकपमा दक्षिण अफ्रिकाले मेक्सिको, चेक गणतन्त्र र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्दा उनी मैदानमा सक्रिय देखिएका थिए । प्रतियोगिताको सहआयोजक क्यानडासँग पराजित भएपछि दक्षिण अफ्रिकी टिम स्वदेश फर्केको थियो ।

हारेर पनि जितेकाहरु

विश्वकप फुटबल केही टिमले हारेर पनि दर्शकहरुको मन जितेका छन् । यस्ता टिममा इजिप्ट अग्रपङ्क्तिमा रह्यो । बोस्निया हर्जगोभिनाले पहिलोपटक नकआउट चरणमा पुगेर बाहिरिनु परे तापनि दर्शकहरुको अपार समर्थन पाउन सफल भएको थियो । यस्तै केही अफ्रिकी टिमले देखाएको खेल प्रदर्शनबाट अफ्रिकी मुलुकको आगामी दिनमा राम्रो सम्भावना भएको आकलन गर्न सकिन्छ । अफ्रिकी टापु केपभर्डे टिम पहिलोपटक नकआउटमा पुगेर आफ्नो आकर्षक खेल देखाएको थियो । विशेषगरी अर्जेन्टिनासँगको खेलका क्रममा यो टिमले मैदान कब्जा गरेर नतिजा आफ्नो पक्षमा ल्याउन कोशिस गरेको थियो । कङ्गो पनि दर्शकहरुको मन जित्न सफल टिमहरुमध्ये परेको थियो ।

घरभित्रको कुरा

नेपाली फुटबल प्रेमीहरुले विश्वकपको अन्तिम चरणमा निःशुल्क फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर पाएर राहतको महसुस गरे तर खेल अवधिमा केही समय विद्युत् आपूर्ति बन्द हुँदा दर्शकहरु निरास बन्न पुगे । सरकारी च्यानल एनटिभी प्लसले फाइनल र तेस्रो स्थानका लागि भएको खेलको कुनै शुल्क नतिरेरै हेर्ने व्यवस्था मिलाएको थियो । यसअघि दर्शकहरुले निजी क्षेत्रको टेलिभिजनमा शुल्क तिरेर मात्र विश्वकप हेरिरहेका थिए । स्थापनादेखि नै नेपाल टेलिभिजनले विश्वकप फुटबल निःशुल्क रुपमा प्रदर्शन गर्दै आइरहेको थियो । आगामी दिनमा यस्तो महत्वपूर्ण खेलकुद प्रतियोगिता निःशुल्क रुपमा प्रदर्शनका लागि सरकारी सक्रियता अपेक्षित मानिएको छ ।

नेपालमा विश्वकपको अत्यन्त ठूलो प्रभाव परेको देखियो । बजारमा टेलिभिजनको बिक्री ह्वात्तै बढ्न गयो । होटल, रेष्टुरेण्टले फुटबल देखाएरै उल्लेखनीय व्यापार गरे । कयौँ नेपाली विश्वकप हेर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर प्रतियोगितास्थलमै समेत पुगेका थिए । मुलुकभित्र मध्यरातको समयमा पनि फुटबल हेर्नेको सङ्ख्यामा कुनै कमी देखिएन । बाटोमा विभिन्न टिमका जर्सी लगाएर हिँड्नेहरु थुप्रै देखिन्थे, जसमध्ये अर्जेन्टिनाका कप्तान मेस्सीको नाम अङ्कित १० नम्बरको टिसर्ट लगाउनेको सङ्ख्या उल्लेख्य रहेको थियो ।

समग्रमा विश्वकै लामो खेलकुद प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबलले संसारभरका खेलप्रेमीहरुलाई एक सूत्रमा बाँध्दै विश्वबन्धुत्वको भावना अभिवृद्धिका लागि महत्वपूर्ण अध्याय स्थापित गरेको छ । विश्वकपका सन्दर्भमा विभिन्न १६ वटा रङ्गशालामा ३९ दिनसम्म सञ्चालन गरिएका १०४ खेलले भिन्दाभिन्दै भूगोल, संस्कृति तथा परिवेशमा रहेका मानिसलाई अझ नजिक बनाउँदै यो फुटबल प्रतियोगिताले नयाँ युगको थालनी गरेको छ ।

यस प्रतियोगितामा अत्यन्त प्रतिस्पर्धात्भक खेलको माध्यमबाट विश्वकप विजेता चयन गरिनुका साथै अन्य विविध विश्व कीर्तिमान कायम भएका छन् । विश्वकपका सन्दर्भमा परम्परागत दाबेदार टिमहरुको छिट्टै पराजयजस्ता अप्रत्याशित नतिजा पनि देखिएका छन् । अपेक्षा नगरिएका टिम तथा चर्चामा नआएका कयौँ प्रतिभाशाली खेलाडीहरुको उचित खेल प्रदर्शन विश्वकपको विशेषता बनेको छ । विज्ञान तथा प्रविधिको उच्चतम विकासलाई खेलसँग जोडने सत्प्रयासले फुटबलमा नयाँ युगको थालनी भएको महसुस गरिएको छ ।

विश्वकपमा पहिलोपटक धेरै मुलुकले खेल्ने अवसर पाए जसले समग्र विश्वकै फुटबलको विकासमा महत्वपूर्ण योगदान पुगेको अनुभव गरिएको छ । विगतमा सीमित शक्तिशाली टिमहरुको मात्र बाहुल्यता रहने गरेको विश्वकपमा यसपटक साना मुलुकका टिमहरुले समेत देखाएको प्रसंशनीय खेलबाट आगामी दिनमा प्रतिस्पर्धा अझ बढ्नसक्ने अपेक्षा गर्न सकिन्छ । समग्रमा फिफा विश्वकप २०२६ ले जुन इतिहास कायम गरेको छ, जसले फुटबलको विश्वव्यापी मैदानलाई अझ फराकिलो बनाउँदै लगेको छ । यसबाट निकट भविश्यमा विश्वको जुनसुकै कुनामा बसेका फुटबलप्रेमीहरु पनि लाभान्वित हुनसक्ने कुरामा आशावादी हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *