काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट आइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राई छन् ।
अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा हो । साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ ।
त्यस्तै देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोबाइल सेट समेत नियन्त्रणमा लिइएको छ । दुबै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले बताए ।
