होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

बीबीसी । संयुक्त राज्य अमेरिकाले इरानमाथि लगातार सातौँ रात पनि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता समाप्त भएको घोषणा गरेपछि अमेरिकी सैन्य कारबाही निरन्तर जारी रहेको हो।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार शुक्रबार रातिको आक्रमणमा निगरानी केन्द्र, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डारणस्थल तथा समुद्री सैन्य क्षमता लक्षित गरिएका थिए। सेन्टकमले लडाकु विमान, ड्रोन, युद्धपोतलगायत विभिन्न सैन्य साधन प्रयोग गरिएको जनाएको छ ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा बारुद बिछ्याइएको जलमार्ग हुँदै गइरहेका दुई तेल ट्याङ्कर विस्फोट भएको दाबी गरेको छ। तर सेन्टकमले उक्त दाबीलाई “गलत“ भन्दै अस्वीकार गरेको छ।

जर्डनका सशस्त्र बलले रातभर आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानद्वारा प्रहार गरिएका १० वटा मिसाइल अवरोध गरी नष्ट गरेको जनाएको छ। घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको बताइएको छ।

अमेरिका–इरानबीच जारी प्रतिआक्रमणका कारण विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत लगभग ठप्प भएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्गबाट ओसारपसार हुने गर्दछ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार याज्द शहर, किश्म टापु तथा बन्दर अब्बास बन्दरगाह क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ।

यसअघि इरानले कुवेत, बहराइन, जोर्डन तथा पहिलोपटक सिरियास्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको थियो। तर अमेरिकाले त्यसलाई अस्वीकार गरेको छ। कुवेती अधिकारीहरूले भने इरानी ड्रोन आक्रमणबाट केही सैनिक घाइते हुनुका साथै विद्युत् केन्द्र र समुद्री पानी प्रशोधन केन्द्रमा क्षति पुगेको बताएका छन्।

अमेरिकाले इरानले उठाएको नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप पनि अस्वीकार गरेको छ। प्रभावित होर्मोजगान प्रान्तका अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा सात जनाको मृत्यु भएको छ।

इरानसँगको शान्ति वार्ता विफल भएपछि अमेरिका लगातार सातौँ रातसम्म सैन्य कारबाहीमा उत्रिएको हो। होर्मुज जलडमरूमध्यको भविष्यलाई लिएर बढ्दो तनावका कारण स्थायी युद्धविरामका लागि भइरहेको कूटनीतिक प्रयाससमेत प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *