हाइड्रोजन रेल युगमा भारतको प्रवेश

काठमाडौँ । भारतले पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने रेल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार उक्त रेलको उद्घाटन गर्दै भारतलाई हाइड्रोजन रेल सञ्चालन गर्ने सीमित राष्ट्रहरूको सूचीमा उभ्याएका छन्।

१० वटा डिब्बा रहेको उक्त रेलमा एकैपटक २ हजार ६ सय यात्रुले यात्रा गर्न सक्ने क्षमता छ । रेल हरियाणाको जिन्द र सोनीपतबीच सञ्चालन हुनेछ। यसको अधिकतम सञ्चालन गति ७५ किलोमिटर प्रतिघण्टा रहनेछ भने ११० किलोमिटर प्रतिघण्टासम्मको गतिलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

हाइड्रोजनलाई हाल उपलब्ध सबैभन्दा स्वच्छ इन्धनमध्ये एक मानिन्छ। हाइड्रोजनबाट सञ्चालित रेलले कार्बन उत्सर्जन नगर्ने, कम ध्वनि प्रदूषण गर्ने तथा डिजेलमाथिको निर्भरता घटाउने भएकाले यसलाई भारतको हरित यातायात अभियानमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

भारतको रेल सञ्जाल करिब ९९ प्रतिशत विद्युतीकरण भइसकेको भएपनि दुर्गम तथा पूर्ण विद्युतीकरण हुन नसकेका क्षेत्रमा वातावरणमैत्री यातायात विस्तार गर्न हाइड्रोजन रेल उपयोगी हुने अपेक्षा गरिएको छ।

यद्यपि, हाइड्रोजन रेलको सफल सञ्चालनसँगै चुनौतीहरू पनि कायमै छन्। विज्ञहरूका अनुसार रेल क्षेत्रमा मात्र सीमित नभई उत्पादन, भण्डारण, आपूर्ति र प्रयोगलाई समेट्ने व्यापक हाइड्रोजन अर्थतन्त्रको विकास भएमा मात्र यस्तो परियोजनाको आर्थिक व्यवहार्यता दीर्घकालीन रूपमा सुनिश्चित हुन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *