कम उमेरका दाताबाट प्राप्त डिम्ब उपयोग गर्दा बढी उमेरका महिलामा प्रजननसम्बन्धी उपचार सफल हुने सम्भावना कम

बीबीसी । कम उमेरका दाताबाट प्राप्त डिम्ब उपयोग गर्दा पनि बढी उमेरका महिलामा प्रजननसम्बन्धी उपचार (फर्टिलिटी ट्रीटमेन्ट) सफल हुने सम्भावना कम हुने एक नयाँ अनुसन्धानले देखाएको छ। विशेष गरी करिब ४९ वर्षको उमेरपछि त्यस्तो उपचारको सफलता दर उल्लेखनीय रूपमा घट्ने देखिएको हो।

१,७७४ महिलामाथि अध्ययन गरेका विज्ञहरूका अनुसार यी निष्कर्षहरूले दाताबाट प्राप्त डिम्बले प्रजननको ‘जैविक घडी’लाई पूर्ण रूपमा ‘रिसेट’ गर्न सक्छ भन्ने धारणालाई चुनौती दिएका छन्। तथापि यो निष्कर्षबाट बढी उमेरका दम्पतीहरू उपचारप्रति निरुत्साहित हुन नहुने पनि उनीहरूले बताएका छन्।

अध्ययनमा ४९ वर्ष वा सोभन्दा माथिका महिलामा ३५ देखि ४० वर्ष उमेर समूहका महिलाको तुलनामा गर्भपतन हुने जोखिम दोब्बर पाइयो। त्यसका साथै उनीहरूमा गर्भ रहन सक्ने सम्भावना पनि कम देखियो।

विशेषज्ञहरूका अनुसार पाठेघरको भित्री तहमा उमेरसँगै हुने परिवर्तनहरू यसको कारण हुन सक्छन् र भविष्यमा यसको उपचार सम्भव हुन सक्छ।

अनुसन्धानकर्ताहरूका अनुसार भविष्यमा गर्भाशयको जैविक उमेरको पूर्वानुमान गर्ने, त्यसलाई जोगाउने वा क्षमतामा सुधार गर्ने उपायहरू विकास गर्न सकिने सम्भावना छ।

इटालीको एउटा प्रजननका निम्ति चिकित्सकीय सहयोग उपलब्ध गराउने संस्थाकी प्रमुख अनुसन्धानकर्ता डा. बेअट्रिस क्रिस्टनीका अनुसार हालसम्म प्रजननसम्बन्धी उमेर बढ्ने समस्यालाई मुख्यतः डिम्बाशयको समस्या मानिँदै आएको थियो। त्यसैले पुराना डिम्बको सट्टा युवा दाताको डिम्ब उपयोग गर्दा प्रजननको जैविक घडी ‘रिसेट’ हुने ठानिन्थ्यो।

“हाम्रा निष्कर्षहरूले वास्तविक अवस्था योभन्दा धेरै जटिल रहेको देखाउँछन्,” उनले भनिन्।अध्ययनका अनुसार ३० को दशकको मध्यदेखि चालिसको सङ्घारको उमेर भएका महिलामा दाताबाट प्राप्त डिम्ब र आईभीएफ उपचारमार्फत् गर्भ रहन सक्ने सम्भावना ५४ प्रतिशत थियो।

तर ४९ वर्ष वा सोभन्दा माथिका महिलामा उक्त दर घटेर करिब ४३ प्रतिशतमा झर्ने पाइयो। जीवित शिशु जन्मिने दर ४६ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा पुग्दा गर्भपतनको दर २४ प्रतिशतबाट बढेर ३८ प्रतिशत पुग्ने देखियो।

अनुसन्धानकर्ताहरूले बढी उमेरका महिलाको पाठेघरको भित्री तह, जहाँ निषेचित डिम्ब वा भ्रूण विकसित हुन्छ, अर्थात् एन्डोमेट्रियममा पनि उमेरसँग सम्बन्धित परिवर्तनहरू देखे। मोटाइ उस्तै भए पनि उमेरसँगै यसको गुणस्तरमा कमी आएको पाइयो।

“यी निष्कर्षहरूले महिलाहरूलाई दाताबाट प्राप्त डिम्ब प्रयोग गरेर उपचार गराउनबाट निरुत्साहित गर्नु हुँदैन किनकि धेरै उमेरका महिलामा समेत यसको सफलता दरले अझै अर्थ राख्छ,” डा. क्रिस्टनीले भनिन्।

“तर बिरामीलाई यो कुरा स्पष्ट रूपमा जानकारी गराइनुपर्छ कि दाताबाट प्राप्त डिम्बले प्रजनन उमेर बढ्दै जाँदाका असरहरूलाई पूर्ण रूपमा हटाउन सक्दैन, विशेष गरी ४९ वर्षको उमेरपछि।”

‘महिलाहरूसँग इमानदार बनौँ’
शेरोन मार्शलले आफ्नो उमेरको ४० को दशकमा लगातार छ वर्षसम्म आईभीएफको प्रयास गरिन्। अनि ४६ वर्षको उमेरमा छोरी बेट्सीलाई जन्म दिइन्।

“हामी ४० वर्षको अन्त्य, ५० वर्षको सुरुआत वा त्यसभन्दा माथिको उमेरमा पनि बच्चा जन्माएका चर्चित व्यक्तिहरूलाई देख्छौँ। हामी उनीहरूको उपलब्धिको प्रशंसा गर्छौँ। तर उनीहरूले त्यसका पछाडि कति पीडा र कठिनाइ भोगे भन्ने हामीलाई थाहा हुँदैन,” उनले भनिन्।

“पछि फर्केर हेर्दा, मैले आफ्नो ४० वर्षको अधिकांश समय बिरामी र डिप्रेसनको अवस्थामा बिताएँ। आफ्नै शरीरमाथिको नियन्त्रण गुमाए झैँ लाग्थ्यो। म बारम्बार सोही प्रक्रियाबाट गुज्रिरहेकी थिएँ।”
उनले ४७ वर्षको उमेरसम्म पनि आईभीएफ सफल नभए त्यसतर्फको प्रयास बन्द गर्ने वाचा स्वयंसँग गरेकी थिइन्।

“सातौँ प्रयासमा सफलता पाउनुअघि हामीले दुई पटक गर्भ गुमायौँ,” उनले सम्झिइन्। गर्भावस्थाभरि पनि उनी चिन्तित नै रहिन्। “छोरी नजन्मुञ्जेल मैले एकपटक पनि पूर्ण रूपमा ढुक्क महसुस गरिनँ।”

“महिलाहरूलाई उमेर बढ्दै जाँदा गर्भधारण गर्न कति कठिन हुन सक्छ र कस्ता चुनौतीहरू आउन सक्छन् भन्ने कुरा इमानदारीपूर्वक भन्नुपर्छ,” नयाँ अध्ययनबारे प्रतिक्रिया दिँदै उनले भनिन्।”हामीलाई त्यो जान्ने अधिकार छ।”

प्रत्येक महिलाको गर्भाशय र अण्डाशयको स्वास्थ्य फरक-फरक हुनेमा विज्ञहरू जोड दिन्छन्।

यूकेमा आईभीएफ उपचारका लागि कानुनी रूपमा अधिकतम उमेर सीमा तोकिएको छैन। तर ग्रीसजस्ता केही युरोपेली देशमा यो सीमा ५४ वर्ष तोकिएको छ।

डिम्ब दान गर्ने उमेर सीमा पनि विभिन्न देशमा फरक-फरक छ। भारतको असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) ऐनअनुसार २३ देखि ३५ वर्ष उमेरका महिलाले जीवनमा एक पटक मात्र डिम्ब दान गर्न पाउँछन्।

थाइल्यान्डमा डिम्बदाता २० देखि ३५ वर्ष उमेरको हुनुपर्छ भने ब्राजिलमा अधिकतम उमेर सीमा ३७ वर्ष छ। यूकेमा ३६ वर्षसम्मका महिलाले डिम्ब दान गर्न वा शेअर गर्न सक्छन्।

यूकेका नियामकहरू भविष्यमा जन्मिने बच्चाको हित तथा गर्भवती महिलाको शारीरिक क्षमताको सुरक्षित रूपमा मूल्याङ्कन गर्न निजी क्लिनिकहरूलाई आग्रह गर्छन्।

यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस) को निर्देशिकामा ४० वर्षसम्मका महिलालाई आईभीएफका तीन चक्र र ४२ वर्षसम्मका महिलालाई एक चक्र उपलब्ध गराउन भनिएको छ।

दाताबाट प्राप्त डिम्ब प्रयोग गर्नेहरूले सामान्यत: उपचारको यो भागको खर्च स्वयंले बेहोर्नुपर्छ।

यूकेमा १ अप्रिल २००५ पछि दर्ता भएका दाताको शुक्रकिट, डिम्ब वा भ्रूणको प्रयोगबाट जन्मिएका व्यक्तिले १८ वर्ष पुगेपछि आफ्नो जैविक दाता मातापिताको पहिचान सम्बन्धी जानकारी माग गर्न सक्छन्।

यस अध्ययनका निष्कर्षहरू युरोपिअन सोसाइटी अफ ह्युमन रिप्रोडक्शन एन्ड एम्ब्रियोलोजी (ईएसएचआरई) मा प्रस्तुत गरिँदै छन् र चिकित्सासम्बन्धी जर्नल ‘ह्युमन रिप्रोडक्सन’मा प्रकाशित भएका छन्।

यस अध्ययनबारे टिप्पणी गर्दै ईएसएचआरईको प्रमुखमा चुनिएका प्रोफेसर बोरुत कोभाचिचले अनुसन्धानकर्ताहरूले प्रत्यारोपित हुने भ्रूण र गर्भाशयको भित्री तहबीच हुने ‘क्रस-टक’ अर्थात् पारस्परिक जैविक संवादलाई अझ राम्रोसँग बुझ्ने प्रयास गरिरहेका बताए।

यो अध्ययनले गर्भाशयको कार्यक्षमता घट्न सुरु हुने उमेरबारे एउटा सङ्केत त दिएको छ तर त्यो पूर्ण रूपमा निश्चित सीमा भने होइन।
“यसले बिरामीहरूलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्छ र गर्भाशयको उमेर बढ्ने प्रक्रियासँग सम्बन्धित नवीन जैविक सङ्केतहरू पहिचान गर्ने उद्देश्यका निम्ति भविष्यका अनुसन्धानका लागि बलियो आधार तयार पार्छ,” उनले भने।

ब्रिटिश फर्टिलिटी सोसाइटीका अध्यक्षमा निर्वाचित डा. इपोक्राटिस सरिसले यस विषयमा थप अनुसन्धानको खाँचो औँल्याए। अधिक उमेरका महिलामा गर्भावस्था बढी जोखिमपूर्ण हुन सक्ने भएकाले प्रजनन उपचार सुरु गर्नुअघि दम्पतीहरूको विस्तृत स्वास्थ्य परीक्षण र उचित परामर्श लिनुपर्ने उनले सुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *