अनलाइन ह्यारेसमेन्टका कारण देश छाड्न बाध्य भएँः उषा रजक

उषा रजक ।

संजोक कार्कीले मलाई फेरि राति राति फोन गर्न थालेको छ । केही दिनअघि मलाई साइबर ब्यूरोले फोन गरी भोटाहिटीस्थित साइबर ब्यूरोको अफिसमा आएर मलाई भएको अनलाइन ह्यारेसमेन्ट केस दर्ता गर्न बोलाउनु भएको थियो । साइबर पुलिसलाई जनताप्रतिको यो सुरक्षाको कवच दिनुभएकोमा धन्यवाद । सुरक्षित महसुस गरेकी थिएँ । म त्यो बेला साइबर ब्यूरो गइनँ किनभने संजोक कार्कीले मलाई लेख्न वा फोन गर्न बन्द गरेको थियो, मैले भनेँ, ठीक छ, म पुलिस रिपोर्ट गर्न जान्न, किनकी मैले उसको हर्कतको पर्दाफास गरेको छु, अब त बन्द गर्छ होला ह्यारेसमेन्ट गर्न । तर हिजोरातिदेखि उसले मलाई फेरि मेसेन्जरमा मेसेज पठाउन थालेको छ। म यी मेसेज खोल्न चाहन्न किनभने त्यहाँ केही हुन सक्छः अश्लीलतादेखि ज्यान मार्ने धम्की हुनसक्छ । कि त सामान्य मेसेज हुनसक्छ, र दुर्भाग्यवस सामान्य मेसेजहरू साइबर अपराधमा गनिँदैन । तर उसले फोन गर्नु नै एक मेसेज होः मलाई धम्क्याएको हो । ब्लक गर्न उपाय हैन, किनभने यस्ता सिक मानसिकता भएकाले अरु बाटो खोज्छ, अर्को अकाउंट खोल्दै ह्यारेसमेन्ट गर्न छोड्दैन ।

यो मान्छेबाट मलाई धेरै दुःख भैसक्यो । उसले गर्दा म देश छोडेर भाग्नु परेको छ । सामाजिक संजालमा मलाई आएका गाली, धम्की सब देखेर परिवारमा सल्लाह गरी मलाई केही समय विदेशमा बसाउने निर्णय भएकोले म अहिले अस्ट्रेलिया छु । म नेपालमा एक्लै भएकोले मेरो सुरक्षाको हितको निम्ति विदेशमा हुनुभएको परिवार, मेरी छोरीको बुवा र मेरी दिदी भिनाजुहरूको सल्लाह र कडा निर्देशन अनुसार म विदेशीएकी छु । मलाई भने डर छैन, मलाई थाहा थियो कि रिस्क छ बोल्नुमा, अपराधी भन्दा पीडितले दुःख भोग्ने समाज हो हाम्रो : यो कुरा पछील्लो समयमा मैले भोग्नु परेको ट्रोलिंगले साबित गर्छ ।

यो सबै त्रास किनभने, ती संजोक कार्कीको राजनीतिमा पहुँच भएको देखिन्छ । सामाजिक संजालमा भिडियोहरू अनुसार उनको नजिकको मान्छे वर्तमान सम्मानीय गृहमन्त्री सुदन गुरुङका पीए जेम्स कार्की हुन् । (शायद अहिले ती सामग्री हटाए होला) । यसरी सँगै उठबस गर्ने भएरै यतिको invincible , अनि पावरले मातिएको देखिन्छ ।

म तथा हामी जनता सम्माननीय गृहमन्त्रीलाई आदर गर्छु, तर यसरी उहाँको निकटको मान्छेले नै जनतालाई उत्पीडन गर्न थालेपछि निरिह र निराश महसुस गरेकी छु । गृहमन्त्री सुदन गुरुङलाई मेरो हार्दिक अनुरोध, कृपया यो मान्छेलाई मलाई हैरानी गर्नबाट रोक्नुहोस्। उसले ममाथि (passive aggressive) हिंसा मात्र गरिरहेको छैन, तपाईं र हाम्रो नयाँ सरकारलाई पनि बदनाम गरिरहेको छ। सुनेको छु, तपाईं उत्पीडितहरूको रक्षा गर्नुहुन्छ भनेर । त्यस्तै न्याय म र सम्पूर्ण नेपालीले कुरिरहेका छौं । नयाँ नेपालमा आशा छ, केहीन केही परिवर्तन त पाउँ ।

म त विदेश आउन सकें, तर हाम्रो देशमा उत्पीडनमा पर्नु भएको र अपराधहरू, डर र त्रास झेलिरहनु भएका धेरै जना हुनुहुन्छ, जसको भाग्ने ठाउँ हुन्न । दिनहुँ कुनै न कुनै किसिमको डर र त्रासमा घिटघिटाई बाँच्नु परेको हुन्छ । उपाय हुन्न । हत्यासम्म हुन्छ, उदाहरणको लागि “नेपाली ब्रो” भन्ने मान्छेले ती नारीको हत्या गरे । त्यो पनि यो जस्तै सानो कुराबाट शुरू भएको थियो । नारी, बालबालिका र लैंगिक–तथा–यौनिक–अल्पसंख्यक व्यक्तिहरू यसरी उत्पीडनमा परेको देखिन्छ ।

मैले दुई महिनादेखि तयार गरिरहेकी एक समिट, जहाँ म एक वक्ताको रूपमा प्रस्तुत हुनुथियो त्यो छोडेर लास्ट मिनेट यसरी भाग्नु परेको छ । अर्को हप्ता मेरो फिल्म शुटिङ हुन लागेको थियो, त्यो मैले छोड्नु पर्यो । मेरो कारणले आयोजक समिति तथा निर्माण टोलीमा परेको घाटाप्रति क्षमा माग्दछु । मेरो परिवारलाई म सक्दो सम्झाउने प्रयास गरी छिट्टै नेपाल आउने प्रयास गर्नेछु ।

मलाई मैले संजोक कार्कीको बारे बोले पछि केही नारीहरूले उनीहरूलाई पनि त्यही किसिमको ह्यारेसमेन्ट गरेको स्क्रिनसटहरू पठाएका छन् । उहाँको घरमा दिदी बहिनी, श्रीमती, आमा कोही हुनुहुन्छ भने प्लीज उहाँलाई सम्झाईदिनु होला । यसरी उहाँले नारीहरुलाई दिक्क नपार्नुहोला । ती नारीहरूको अनुमतिसहित म नेपाल आई ती स्क्रिनसटहरू साइबर प्रहरीलाई बुझाउने छु । अहिलेलाई मलाई न्याय चाहिएको छ ।
उषा रजक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *