वालिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रेको बलियो दाबी

वालिङ । वालिङ उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शंकर डुम्रे बलिया दाबेदारका रूपमा देखिएका छन् । लामो समयदेखि वालिङमा रहेर विभिन्न व्यावसायिक गतिविधिमा सक्रिय डुम्रे अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण व्यक्ति हुन् ।

व्यवसायसँगै उनी शिक्षाक्षेत्रमा पनि सक्रिय छन्।  हाल वालिङस्थित नेपाल आदर्श माध्यमिक विद्यालय तथा क्याम्पसका अध्यक्षका रूपमा कार्यरत डुम्रे विद्यालयलाई गुणस्तरीय र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने अभियानमा लागिरहेका छन् । नेपालमै केही गर्ने उद्देश्यका साथ व्यवसायमा निरन्तर सक्रिय रहँदै आएका डुम्रे युवामाझ पनि लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छन् ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए वालिङको अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न योजना कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ । उनका अनुसार वालिङमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको छ । गह्रौँसुर मन्दिर, बाहुनथान, अकला देवी मन्दिर, पित्लेक, सुन्तलाबारी होमस्टे, आँधीखोला लगायतका पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचार–प्रसार र प्रवर्द्धन गर्न सके पर्यटन उद्योगसँगै स्थानीय व्यापार–व्यवसाय पनि फस्टाउन सक्ने उनको विश्वास छ ।

डुम्रेले हाल बजारमा दक्ष तथा सीपयुक्त जनशक्तिको अभावका कारण उद्योग–व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गर्दै स्थानीय आवश्यकता अनुसार सीपमूलक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राखेका छन्। साथै वालिङमा थप लगानीमैत्री वातावरण निर्माण गरी बाह्य तथा ठूला लगानी भित्र्याउने, स्थानीय उद्योगी तथा व्यवसायीको सहभागितामा उद्योग–व्यवसाय विस्तार गर्ने र त्यसमार्फत रोजगारीका नयाँ अवसर सिर्जना गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताएका छन् ।

व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्याको पहिचान गरी समाधानका लागि उद्योग वाणिज्य संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ । साथै स्थानीय उत्पादनको ब्रान्डिङ गरी वालिङलाई राष्ट्रिय स्तरमा चिनाउने योजनासमेत उनले अघि सारेका छन् । साना, मझौला र ठूला सबै व्यवसायीको साझा आवाज बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्पूर्ण व्यवसायीसँग आफ्नो पक्षमा मतदान गर्न हार्दिक अपिल गरेका छन्। यसअघि वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्विरोध निर्वाचित भइसकेकी छन् ।

बाँकी पदहरूमा भने निर्वाचन हुने भएको छ। तिवारी नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रे, उपाध्यक्षमा सुविन्द्र गुरुङ (सुबिन), महासचिवमा विमल अर्याल, सचिवमा अशोक पौडेल, कोषाध्यक्षमा केशव पराजुली, सह–कोषाध्यक्षमा गोविन्द तिवारी तथा सदस्यमा अनुरुद्र पाण्डे (अशोक), छायादेवी लुइँटेल अधिकारी, नितु जेडी राना, पार्वती पगेनी, रमेश भुसाल, विनोद पराजुली, सुन्दर न्यौपाने, सुन्दर विक र स्वीकार कोइराला उम्मेदवार रहेका छन्। वालिङ उद्योग वाणिज्य संघको निर्वाचन यही असार २१ गते हुने तय भएको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमार्फत व्यवसायीसँग मत माग्न व्यस्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *