कोरला सडक अवरुद्ध हुँदा भन्सारमा रोकिए १५० भन्दाबढी कन्टेनर

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन् ।

गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएपछि उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको हो ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपास भइसके पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका हुन् ।

“कोरलानाकास्थित भन्सार यार्ड क्षेत्रमा १५० बढी कन्टेनर छन् । तीमध्ये ९० प्रतिशतको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको छ,” भन्सार प्रमुख चुडालले भने, “भन्सारमा केही कन्टेनर जाँचपास प्रक्रियामा छन्, त्यो पनि अबको दुईदिन भित्र सकिन्छ ।”

तातोपानी नाका र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरलानाका पनि वर्षाका कारण प्रभावित बनेको उनले बताए ।

भारी वर्षा अघि मालसामान ढुवानी गर्न कोरलानाका पुगेका मालवाहक कन्टेनर भन्सार जाँचपास प्रक्रिया सकेपनि सडक अवरुद्ध भएकाले गन्तव्यतर्फ प्रस्थान गर्न नसकी यार्ड क्षेत्रमा रोकिएका प्रमुख चुडालले जानकारी दिए । “सडक अवरुद्ध भएकाले नयाँ कन्टेनर थपिएका छैनन्”, उनले भने, “चीनबाट मालवस्तु पैठारी गरिएका कन्टेनर पनि सडकको अवस्थाले गर्दा तल झर्न सकिरहेका छैनन् ।”

चीनबाट दसैँतिहार लक्षित मालवस्तु पैठारी गर्ने याममा बाढीपहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा राजस्व सङ्कलनमा राज्यले घाटा व्यवहोर्नु पर्ने अवस्था सृजना भएको प्रमुख चुडालले बताए । उनका अनुसार गत भदौ १० गते रसुवागढी–केरुङ नाका बाढीका कारण पूर्ण रूपमा बन्द हुँदा कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड बढी राजस्व सङ्कलन गर्दै आइरहेको थियो ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट दसैँ लक्षित तयारी सामान, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान, लत्ता कपडालगायत विद्युतीय सवारीसाधन नेपाल भित्रिने गर्दछन् ।

यसैगरी, कोरला खण्ड अवरुद्ध हुँदा करिब २०० विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएका छन् । तीमध्ये १०० बढी सवारी पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकी जोमसोम बसपार्कमा रोकिएका सशस्त्र प्रहरी बल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *