काठमाडौँ । आफूलाई प्रहरी भन्दै हत्कडी लगाएर १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार ९ गते साँझ करिब ७ बजे सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानको डेरामा घटना भएको थियो ।
सर्लाही लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने उद्देश्यले काठमाडौं आएका बेला ५–६ जनाको समूहले आफूहरू प्रहरी भएको भन्दै नियन्त्रणमा लिएको थियो।
उनलाई हत्कडी लगाई साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएका थिए। घटनापछि खोजतलासका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्सा ठोरी गाउँपालिका–४ घर भई गौरीघाट बस्दै आएकी ४३ वर्षीया लक्ष्मी गोले तथा सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भई वनस्थली बस्ने ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई लाख रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको जनाएको छ।
