काठमाडौं । इंग्ल्याण्ड र क्रोएसिया समूह ‘एल’को विजेता र उपविजेता बन्दै फिफा विश्वकप-२०२६ को नकआउट चरणमा पुगेका छन् । आइतबार बिहान भएको खेलमा इंग्ल्याण्डले पानामालाई २-० गोलले पराजित गरेको हो ।
न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन ह्यारी केन र जुड बेल्लिन्घामले समान एक/एक गोल गरे ।
जितसँगै इंग्ल्याण्ड ३ खेलबाट ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदा पानामा अंकविहीन बन्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै आज बिहान भएको समूहको अर्को खेलमा क्रोएसियाले घानालाई २-१ गोलले हराएको हो । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा क्रोएसियालाई जित दिलाउन पिटर सुसिक र निकोला भ्लासिकले समान एक/एक गोल गरे । घानाको लागि डेरीक लुकासेनले एक गोल फर्काए ।
जितसँगै क्रोएसिया ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको छ । हारका बाबजुत घानापनि ३ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहेर नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो ।
