कास्की । पोखरामा शनिबार दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा–१४ को विजयबस्तीबाट विजयपुर खोला तरी पोखरा-२६ सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी १४-१५ वर्षका दुई जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।
‘हामी अहिले खोजी र उद्धारमा छौँ । समूहमा सँगै खोला तर्ने क्रममा दुई जनालाई बगाएको भन्ने प्रारम्भिक सूचना छ’, प्रहरी नायब उपरीक्षक पासवानले भने। घटनापछि इलाका प्रहरी कार्यालय शिशुवा, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट गरी २१ जना प्रहरी खोजीमा खटिएका छन् ।
यसैगरी, सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट नौ जनाको खोताखोरसहितको टोलीसमेत परिचालित भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
