भद्रपुर (झापा) । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार गत वैशाख २ गते शिवसताक्षी नगरपालिकास्थित झिलझिले क्षेत्रमा खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा पीडित युवतीले आफ्नै बाबुबाट पटक–पटक जबर्जस्ती करणी भएको, त्यसबाट गर्भ रहन गई शिशुको जन्म भएको र बाबुकै सल्लाहमा नवजात शिशुको शव गाडिएको बयान दिएपछि प्रहरीले नवजात शिशु हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरी आरोपितको खोजी थालेको थियो ।
प्रहरीका अनुसार आरोपित व्यक्ति रोल्पामा कामका लागि जाने भन्दै घरबाट निस्किएका थिए । आफूलाई खोजी भइरहेको थाहा पाएपछि उनी विभिन्न स्थानमा लुक्दै बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले असार ३ गते नै आरोपितलाई आफ्नै छोरीसँग होटलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई झापा ल्याएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
पीडित युवतीलाई भने हाल काकडभिट्टास्थित ‘आफन्त नेपाल’ को संरक्षणमा राखिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।
