‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तिकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन् टाढाको कुरा थियो ।

दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मण्डेलाले भनेका थिए, “खेलकुदमा संसार परिवर्तन गर्ने शक्ति हुन्छ । यसमा मानिसहरूलाई एकताबद्ध गर्ने र जहाँ निराशा मात्र छ, त्यहाँ आशा जगाउने अद्भूत क्षमता हुन्छ ।” आज नेपालमा महिला क्रिकेटले यही परिवर्तनको कथा लेखिरहेको छ । हिजो बेल्ना–चक्लामा सीमित हातहरूले आज आत्मविश्वासका साथ क्रिकेट मैदानमा ब्याट चलाइरहेका छन् । सटिक बलिङ गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराइरहेका छन् ।

नेपाली महिला क्रिकेटको बढ्दो यात्रा केवल खेलकुदको उपलब्धि मात्र होइन, महिला सशक्तीकरणको एउटा सशक्त आधार पनि हो । यस परिवर्तनको उदाहरण राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी रचना चौधरी हुन् । सुदूरपश्चिमको कैलाली जिल्लाको सुवर्णपुरबाट बुबासँगै अध्ययनका लागि पोखरा आएकी रचना अहिले कक्षा १२ मा अध्ययनरत छिन् । उनको क्रिकेट यात्रा योजनाबद्ध होइन, संयोगबाट सुरु भएको थियो । कक्षा ९ मा अध्ययनरत रहँदा १४ वर्षको उमेरमा किडासा फाउण्डेशनमार्फत क्रिकेटसँग जोडिएकी रचना रमाइलोका लागि खेल क्षेत्रमा आएकी थिइन् । “मलाई त्यतिबेला पढाइभन्दा खेल्न रमाइलो लाग्थ्यो । रमाइलोका लागि खेलेको खेलले नै मलाई पहिचान दियो । पछि क्रिकेट नै मेरो जीवनको हिस्सा बन्यो,” उनी सम्झिन्छिन् ।

मिस्त्री काम गर्ने बुबाको सङ्घर्षका बीच हुर्किएकी रचनाले त्यतिबेला क्रिकेटले आफ्नो जीवन नै बदलिदिन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन् । तर निरन्तर अभ्यास, मिहिनेत र समर्पणले उनलाई राष्ट्रिय टोलीसम्म पुर्‍यायो । आज उनी नेपाल क्रिकेट सङ्घ ९क्यान० को केन्द्रीय सम्झौताअन्तर्गत आबद्ध रहँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् । मलेसियामा सम्पन्न आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने अवसरलाई उनी आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक मान्छिन् ।

गण्डकी प्रदेशकी अर्की खेलाडी सिर्जना पौडेलको अनुभव पनि महिला सशक्तीकरणसँग जोडिएको छ । व्यावसायिक क्रिकेट खेल्दै मासिक पारिश्रमिक प्राप्त गरिरहेकी पौडेलका लागि क्रिकेट केवल खेल होइन, आत्मविश्वास, आत्मनिर्भरता र स्वतन्त्रताको माध्यम हो । उनी भन्छिन्, “जब म मैदानमा ब्याट समातेर उभिन्छु, मलाई लाग्छ यो केवल काठको टुक्रा होइन, मेरो आत्मविश्वासको आधार हो । हिजो ‘छोरी भएर घरभित्र बस’ भन्ने समाजले आज हाम्रो चौका र छक्कामा ताली बजाइरहेको छ ।”

स्याङ्जाकी खेलाडी सिमाना केसीको अनुभवले पनि महिला क्रिकेटमा आएको परिवर्तनलाई पुष्टि गर्छ । सन् २०२० देखि क्रिकेट खेल्न थालेकी केसी अहिले बिबिए अध्ययनसँगै सिनियर क्रिकेट टोलीमा सक्रिय छिन् । आईसीसी यू–१९ टोलीमा छनोट हुँदा निकै खुसी लागेको क्षणसँगै अहिले सिनियर टोलीमा रहेर हालै मात्र मलेसियामा भएको एसिया प्रिमियर कपको अनुभव बटुलेर फर्किएकी छन् । राष्ट्रिय टोलीबाट मासिक पारिश्रमिक बुझेर खेल्दै आएकी केसी भन्छिन्, “खेलकुद अब आत्मनिर्भर बन्ने माध्यम पनि बन्दै गएको छ । यसले आत्मविश्वास र सशक्तीकरणको यात्रामा थप हौसला दिएको छ ।”

स्याङ्जाकै कुशुम गोदार पनि व्यावसायिक खेलमैदानमा सक्रिय छिन् । गण्डकी प्रदेशबाट पारिश्रमिक बुझेर खेल्दै आएकी गोदार यतिबेला नयाँ खेलाडीलाई प्रोत्साहन गर्न व्यस्त छिन् । इच्छाशक्ति र आत्मविश्वासका साथ आउन सके क्रिकेटले आफ्नो पहिचानसहित आत्मनिर्भर बन्ने बाटो पनि तय गर्ने उनको धारणा छ । आत्मविश्वास बढ्दा जस्तोसुकै चुनौती पनि पार गर्न सकिने क्षमता खेलबाट बटुलेको उनी सुनाउँछिन् ।

नेपाल महिला क्रिकेटको यात्रालाई नजिकबाट नियाल्ने नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले विगत र वर्तमानबीचको ठूलो अन्तर अनुभव गरेकी छन् । “आज महिला क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसको यात्रा सहज थिएन । म क्रिकेटमा आउँदा महिलाको सहभागिता निकै न्यून थियो । क्रिकेट खेल्ने छोरीलाई समाजले सहज रूपमा स्वीकार्दैनथ्यो । ‘ब्याट र बल बोकेर केटाजस्तो हिँड्छे’ भन्ने टिप्पणीहरू सुन्नुपर्थ्यो,” थापा सम्झिन्छिन् । देशको पहिलो महिला राष्ट्रिय टोलीको कप्तानी गर्ने अवसरलाई उनी नेपाली महिला क्रिकेटको इतिहासमा एउटा महत्वपूर्ण अध्यायका रूपमा लिन्छिन् ।

गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले करिब डेढ दशकअघिको समय सम्झिँदै भन्छन्, “२०६८ सालतिर छोरीलाई क्रिकेट खेल्न पठाउन अभिभावकहरू तयार हुँदैनथे । ‘मेरो छोरीको जिम्मा कसले लिन्छ रु’ भन्ने प्रश्न बारम्बार आउँथ्यो । राष्ट्रिय प्रतियोगितामा पठाउन अभिभावकले स्वीकृति नदिँदा निकै समस्या हुन्थ्यो । आज भने अवस्था फेरिएको छ । अभिभावकहरू आफैँ छोरीहरूलाई क्रिकेट प्रशिक्षणका लागि एकेडेमीमा पुर्‍याउन थालेका छन् ।” उनी नेपाल क्रिकेट सङ्घ ९क्यान० ले महिला खेलाडीहरूलाई मासिक पारिश्रमिक उपलब्ध गराउन थालेपछि क्रिकेटप्रतिको आकर्षण पनि बढेको बताउँछन् ।

सिग्देलका अनुसार आज नेपालभर करिब ३० जिल्लामा महिला क्रिकेट गतिविधि सञ्चालन भइरहेको छ । झण्डै ४५० देखि ५०० जना महिला खेलाडी सक्रिय रूपमा क्रिकेटमा आबद्ध छन् । प्रदेशस्तरमा करिब १५० जना खेलाडी प्रतिस्पर्धामा छन् भने राष्ट्रियस्तरमा करिब ३० महिला खेलाडीले नियमित रूपमा प्रतिनिधित्व गरिरहेका छन् । विभिन्न उमेर समूह र सिनियर तहमा सात प्रदेशका १४–१५ वटा टोली राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिले क्रिकेट खेल्दा भविष्य देखिँदैन भन्ने धारणा बदलिँदै अहिले खेलाडीहरूले खेललाई पेसाका रूपमा हेर्ने वातावरण बने पनि महिला क्रिकेटको विकासका लागि अझै पनि चुनौतीहरू बाँकी रहेको प्रशिक्षक दिपेश खत्री बताउँछन् । “देशका धेरै जिल्लामा महिलामैत्री खेल पूर्वाधारको अभाव छ । निजी क्षेत्रको लगानी र प्रायोजन पनि अपेक्षाकृत न्यून छ । सहरी क्षेत्रमा अवसर बढे पनि ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली छोरीहरू अझै अवसरबाट वञ्चित छन् । खेलाडीहरूको सामाजिक सुरक्षा र खेल जीवनपछिको रोजगारी सुनिश्चित गर्न स्पष्ट नीति आवश्यक छ,” उनी भन्छन् ।

नेपाली महिला क्रिकेटको वर्तमान अवस्थालाई हेर्दा आफूलाई गर्व लाग्ने बताउँछन् पूर्वराष्ट्रिय क्रिकेट कप्तान तथा नेपालमा महिला क्रिकेटका प्रणेता लेखबहादुर क्षेत्री । उनका अनुसार आज महिला क्रिकेटले प्राप्त गरेको सफलता एक दिनको उपलब्धि नभई दुई दशकभन्दा लामो सङ्घर्ष, धैर्य र समर्पणको परिणाम हो । “नेरी थापा, सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, इन्दु बर्मालगायतका खेलाडीहरूले गरेको सङ्घर्ष, त्याग र समर्पणकै कारण नेपाली महिला क्रिकेटले आज अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाएको हो,” उनी भन्छन् ।

नेपाली महिला क्रिकेटको इतिहास सम्झँदा सन् २००७ मा मलेसियाको जोहोरमा आयोजित पहिलो एसिसी महिला च्याम्पियनसिप विशेष महत्वको रहेको क्षेत्री बताउँछन् । “नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उपविजेता बन्न सफल भएको थियो । त्यसले नेपाली महिला क्रिकेटको सम्भावना अन्तर्राष्ट्रिय समुदायसामु चिनाएको थियो,” उनी सम्झिन्छन् ।

उनका अनुसार २०६१ सालतिर बाँकेको कोहलपुरमा महिला क्रिकेटका गतिविधि सुरु गर्दा खेलाडी जुटाउनै कठिन हुन्थ्यो । सामाजिक सोच, पूर्वाधारको अभाव र सीमित अवसरका बीच छोरीहरूले ठूलो सपना बोकेर मैदानमा आउँथे । उनीहरूको आत्मविश्वास र साहस देख्दा एक दिन महिला क्रिकेटले अवश्य सफलता पाउने विश्वास जाग्थ्यो ।

उनका अनुसार सन् २०१० देखि २०१५ सम्म महिला क्रिकेट लगभग ठप्पजस्तै भयो । प्रतियोगिता कम भए, खेलाडीहरू पलायन भए र विकासको गति सुस्तायो । सन् २०१७ पछि भने महिला क्रिकेटले पुनः नयाँ गति लिन थाल्यो । राष्ट्रिय खेलकुद परिषद्, क्यान र विभिन्न सरोकारवालाको पहलमा प्रधानमन्त्री कपलगायतका राष्ट्रिय प्रतियोगिताले महिला क्रिकेटलाई पुनर्जीवित गर्‍यो । क्यानले महिला क्रिकेटलाई दीर्घकालीन दृष्टिकोणका साथ अघि बढाउन थालेपछि खेलाडी उत्पादन, प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागितामा उल्लेखनीय सुधार आएको उनको भनाइ छ ।

आज नेपाली महिला क्रिकेटले यू–१९, एसिया कप हुँदै विश्वकपसम्मको यात्रा तय गरिसकेको छ । “हिजो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु नै ठूलो उपलब्धि थियो । आज विश्वकप र एसिया कपमा प्रतिस्पर्धा गर्ने स्तरमा पुग्नु नेपाली महिला क्रिकेटको ऐतिहासिक फड्को हो,” उनी भन्छन् ।

महिला क्रिकेटको अर्को महत्वपूर्ण उपलब्धि आर्थिक आत्मनिर्भरता पनि हो । “एक समय खेलाडीहरूले आफ्नै खर्चमा खेल्नुपर्थ्यो । आज क्यानको केन्द्रीय र प्रदेश सम्झौतामा रहेर खेलाडीहरूले पारिश्रमिक पाउन थालेका छन् । यसले क्रिकेटलाई पेसागत रूपमा अघि बढाउने वातावरण बनाएको छ । सामान्य परिवारबाट आएका धेरै छोरीहरूले आज क्रिकेटमार्फत आफ्नो परिचय र भविष्य निर्माण गरिरहेका छन्,” उनी भन्छन् ।

यद्यपि चुनौतीहरू अझै बाँकी छन् । “अहिले पनि धेरै जिल्लामा गुणस्तरीय मैदान, प्रशिक्षक, नियमित प्रतियोगिता र निजी क्षेत्रको लगानीको अभाव छ । ग्रामीण भेगका धेरै प्रतिभाशाली छोरीहरू अवसरको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई पहिचान गरी राष्ट्रिय प्रणालीमा जोड्नु आवश्यक छ,” उनले जोड दिन्छन् ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै क्षेत्रीले अहिलेदेखि नै तयारीमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । “नेपालले अब सहभागिता मात्र होइन, प्रतिस्पर्धात्मक सफलता हासिल गर्ने लक्ष्य राख्नुपर्छ । त्यसका लागि जिल्ला र प्रदेशस्तरबाट प्रतिभा पहिचान, नियमित प्रतियोगिता, वैज्ञानिक प्रशिक्षण र दीर्घकालीन योजना आवश्यक छ । आज लगानी गरिएका किशोरी खेलाडीहरू नै भोलि नेपालको अन्तर्राष्ट्रिय सफलताका आधार बन्नेछन् ।”

एउटा कठिन यात्राबाट आफ्नो गौरवमय पहिचान बनाउन सफल महिला खेलाडीहरूको प्रत्येक ब्याटको प्रहारसँगै उनीहरूको आत्मविश्वास अझ बलियो बन्दै गएको छ । यही आत्मविश्वास, सङ्घर्ष र सफलताको यात्राले समतामूलक, समावेशी र सशक्त समाज निर्माणको आधार तयार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *