श्रीलङ्कामा पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ

काेलम्बाे । श्रीलङ्कामा पूर्वन्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

श्रीलङ्काको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार रकिथा राजपक्षेलाई हिरासतमा लिएको हो । उनीमाथि सन् २०२३ मा इन्टरपोलको सहयोगमा मेडागास्करबाट स्वदेश फिर्ता ल्याइएका लागुऔषध तस्करीका मुख्य संदिग्ध नादुन चिन्ताकालाई रिहा गराउन ठूलो रकमको घुसको लेनदेन गरेको आरोप लागेको छ ।

अधिकारीहरूका अनुसार उक्त रिहाइका लागि करिब ५० करोड श्रीलङ्काली रुपैयाँ बराबरको घुस मागिएको थियो । भ्रष्टाचार अनुसन्धान आयोगले रकिथा राजपक्षेले त्यसमध्ये करिब १२ करोड रुपैयाँ प्राप्त गरिसकेको जनाएको छ ।

घटना भएको समयमा उनका पिता विजयदास राजपक्षे न्याय तथा कारागार सुधार मन्त्रीको जिम्मेवारीमा रहेका थिए । यद्यपि, सन् २०२४ को आम निर्वाचनमा तत्कालीन सरकार पराजित भएपछि लागुऔषध तस्करलाई रिहा गर्ने योजना कार्यान्वयन हुन नसकेको जनाइएको छ ।

नादुन चिन्ताका ‘हरक काटा’ नामले परिचित छन् । श्रीलङ्का प्रहरीले उनलाई देशका सबैभन्दा खतरनाक लागुऔषध तस्करमध्ये एकका रूपमा वर्णन गर्दै आएको छ । उनीमाथि आपराधिक सञ्जाल सञ्चालन गरेको आरोप छ र हाल उनी न्यायिक हिरासतमा रहेका छन् ।

गत सेप्टेम्बरमा वामपन्थी राष्ट्रपति अनुरा कुमार दिसानायके सत्तामा आएपछि भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिइएको छ । त्यसयता उच्च तहका राजनीतिक तथा प्रभावशाली व्यक्तिमाथि अनुसन्धान र कारबाही बढेको छ । रकिथा राजपक्षे पछिल्लो उच्च–प्रोफाइल व्यक्तिका रूपमा पक्राउ परेका हुन् ।

अधिकारीहरूले विजयदास राजपक्षेको परिवार सन् २००५ देखि २०२२ सम्म श्रीलङ्काको राजनीतिमा प्रभाव जमाएको राजापाक्ष राजनीतिक परिवारसँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन् । उक्त राजनीतिक वंशका केही सदस्यहरूले भने मनी लान्ड्रिङ र शक्ति दुरुपयोगसम्बन्धी मुद्दाको सामना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *