अझै पनि झुठा आरोप लगाउन खोजिँदैछ, म ढल्न तयार हुन्छु, मारिन तयार हुन्छु तर शिर झुकाउन्नः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला लोकतन्त्र अपहरित भएको, देश प्रतिगमनतर्फ गएको र देशको अस्तित्व खतरामा रहेको बताएका छन् ।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव सङ्कलनका लागि बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले गत फागुन २१ मा गरिएको प्रतिनिधिसभाको निर्वाचन भदौ २३/२४ को घटना तथा त्यसपछिका अवैध र असंवैधानिक कामलाई वैधानिकता दिन रचिएको प्रपञ्च भएको बताएका हुन् ।

निर्वाचनमा गुणस्तरहीन मसीको प्रयोग र मतपेटिका मतगणनास्थलसम्म पुर्याउने काम शङ्काष्पद देखिएको उल्लेख गर्दै प्रमाणले पुष्टि नगरेसम्मका लागि निर्वाचन परिणाम स्वीकारिएको उनले स्पष्ट गरे ।

अध्यक्ष ओलीले भने, ‘निर्वाचन हुँदैमा देशमा लोकतन्त्र छ भन्न सकिँदैन । लोकतन्त्र अपहरित भएको छ ।’ उनले भने, ‘हामीले धेरै ठाउँमा भारतको जमिन मिचेका छौं भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई कालापानी, लिपुलेक हाम्रो हो भन्ने कुराले खण्डित गर्दैन, तर प्रधानमन्त्री आफ्नो अघिल्लो अभिव्यक्ति सच्याउन तयार हुनुहुन्न ।’

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष ओलीले राष्ट्रियता र देशको अस्तित्व खतरामा रहेको बताए ।
यो सरकारले आफ्नो पहिलो निर्णयबाटै विपक्षीमाथि दमन गर्ने नीति लिएको र विना आधार र कारण विपक्षी नेतालाई गिरफ्तार गर्ने, थुन्ने काम गरेको र यो क्रम अहिले पनि जारी रहेको भन्दै उनले सरकार फाँसीवादी, नाजिवादी शैलीमा अगाडि बढिरहेको भेलामा सहभागीहरूलाई जानकारी गराए ।

सरकार प्रतिपक्षसँग पञ्चायतमा भन्दा निकृष्ट र घटिया ढङ्गले व्यवहार गरिरहेको भन्दै अध्यक्ष ओलीले यस्तो प्रतिकूल परिस्थितिमा अब पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित गर्न भेलामा सहभागी पार्टीका नेताकार्यकर्ताहरूलाई आग्रह पनि गरे ।

उनले वर्तमान सरकार जनताको सेवक होइन, शासक बन्न खोजिरहेको बताए । नेपाल कम्युनिष्ट पार्टीले पनि २०७४ को निर्वाचनमा करिव दुईतिहाइ बहुमत हासिल गरी सरकार सञ्चालन गरेको र त्यस कार्यकालमा देशको आर्थिक विकास, राष्ट्रियता, गरिबी निवारण, शान्ति सुव्यवस्था र सुशासनका दृष्टिले ऐतिहासिक काम गरेको स्मरण गर्दै अध्यक्ष ओलीले तर यस्तो आतङ्क नगरेको बताए ।

वर्तमान सरकार जर्मनीमा नाजी र इटालीमा मुसोलिनीले गरेजस्तो सिकेर देशमा द्वन्द्व निम्त्याउन खोजिरहेको तर हिटलर र मुसोलिनी आफ्ना कदमका कारण पतन भएको स्मरण गर्दै अध्यक्ष ओलीले भने,‘दमन र अत्याचारविरुद्ध जनविष्फोट हुन्छ । उनीहरू पराजित हुन्छन् ।’

सरकार अपदस्थ गर्ने र सत्ता कब्जा गर्ने षडयन्त्र अन्तर्गत भदौ २३ गते बच्चा हत्या र २४ गते आगजनी गरिएको बताउँदै उनले आफूमाथि बच्चा हत्याको झुठा आरोप लगाइएको स्पष्ट गरे ।अध्यक्ष ओलीले भने, ‘अझै पनि झुठा आरोप लगाउन खोजिँदैछ, म ढल्न तयार हुन्छु, मारिन तयार हुन्छु तर शिर झुकाउन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *