मधेशमा ९१ दशमलव ५५ प्रतिशत रोपाइँ सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो ।

मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा सोही क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।

सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा हालसम्म ६१ हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

धनुषामा ८५ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा ४३ हजार ९०० हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकामा हालसम्म ३७ हजार ३१५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

त्यस्तै महोत्तरीमा ७४ दशमलव ७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत तथा पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

मधेश प्रदेशमा कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । अनुकूल वर्षा र पर्याप्त सिँचाइ सुविधाका कारण यस वर्ष रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको अधिकृत विश्वकर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *