बूढीगण्डकी बाढीप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त, राहतमा जुट्न रास्वपा सदस्यलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार बिहान आएको बाढीले चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको सभापति लामिछानेले बताएका छन् ।

उनले बाढीबाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बाढीको जोखिम अझै कायम रहेकाले सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न उनले अपील गरेका छन् ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकको तत्काल उद्धारमा सरकार सक्रिय रहेको उल्लेख गर्दै सभापति लामिछानेले राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरेर जुट्न रास्वपाका सदस्यहरूलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *