काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्यका लागि विपक्षी दललाई निम्ता दिइएको थियो । शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायका नेता आइतबार चितवनको भरतपुर पुगेका थिए । नेकपा र एमालेबाट दोस्रो तहका नेता पठाइएका थिए भने गगन आफैं गएका थिए । त्यसकारण पनि गगन रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा आकर्षणको केन्द्र बनेका थिए । किनकी गगनले के भन्छन् भन्ने सबैको चासो थियो । गगनले भाषण गरिरहँदा प्रधानमन्त्री बालेन साह, रास्वपा सभापति रवि लामिछानेले समेत ताली बजाएको देख्न सकिन्थ्यो । सम्बोधनका क्रममा गगनले कांग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाइरहेकाले रास्वपालाई त्यसबाट जोगिन सुझाव दिए । उनले शक्तिको उन्माद र नेताहरूमा पलाउने अहंकारले जनमत दुर्घटनामा पर्छ भन्नेतर्फ हेक्का राख्नसमेत रास्वपालाई आग्रह गरे । त्यस्तै गगनले पार्टीलाई पार्टीभित्रकै नेताबाट जोगाउनेतर्फ ध्यान दिन पनि सुझाव दिए । उनले भने, ‘सभापतिजी र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नै घरभित्र लड्न गाह्रो हुँदो रहेछ। किनकी, त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ।’
गगनपछि रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन साह र त्यसपछि रवि लामिछानेले सम्बोधन गरेका थिए । गगनले पार्टीकै नेताबाट पार्टी जोगाउनुपर्ने भन्ने प्रसंगलाई रविले आफ्नो सम्बोधनमा उल्लेख गरे । उनले रास्वपालाई लडाउने तागत अरुसँग नभएको बताए । उनले भने, ‘रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरु कसैको तागत छैन । गुट र उपगुटले दिने फल विषालु हुनेछ । त्यो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने हुन्छ । हामी कस्ता बिउ रोप्ने भन्ने ठाउँमा उभिएका छौँ । समग्र रूपमा कुनै गुट र उपगुटमा नलागीकन विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने फेरि पनि भन्छु– रास्वपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन । यो निर्धक्कसाथ भन्न सक्दछु ।’
तर महाधिवेशन उद्घाटनको भोलिपल्टै अतिथिहरुको सम्बोधनप्रति रास्वपाका सांसद खगेन्द्र सुनारले तुच्छ अभिव्यक्ति दिएका छन् । उनले शुभकामना दिन आएका अतिथिहरुलाई भ्रष्टाचारी र आतंककारी नै भने । सुनारले भने, ‘रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी, आतङ्ककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, यिनीहरुलाई अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको हो ।’
त्यस्तै उनले रास्वपाका नेता–कार्यकर्तालाई सम्झाउन जरुरी नभएको बताए । उनको भनाई थियो, ‘बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी छैन । रोगीहरुले आएर बालेन साह जस्ता वरिष्ठ डाक्टर, रवि लामिछाने जस्ता वरिष्ठ डाक्टरहरुलाई, स्वर्णिम वाग्ले जस्ता वरिष्ठ डाक्टरहरूलाई सल्लाह दिने होइन ।’
बाँके ३ बाट निर्वाचित सांसद सुनारले यसअघि यदि खसी (मटन) खान पाइने हो भने गाई काटेर खान पनि पाउनुपर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । उनले भनेका थिए, ‘कसैले मटन खान पाउँछ भने अर्कोले गाई पनि खान पाउनुपर्छ । त्यसमा रोक्नुपर्ने कारण के छ यसमा ?’ राष्ट्रिय जनावर गाईलाई हत्या गर्न पाउनुपर्ने विषयमा खुलमखुला अभिव्यक्ति दिइएको भन्दै उनको आलोचना भएको थियो । त्यसपछि रास्वपाले सुनारको एक विवादित अभिव्यक्तिलाई लिएर सचेत गराएको थियो । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी सुनारले रास्वपामा जोडिनुअघि व्यक्त गरेको अभिव्यक्तिलाई लिएर उत्पन्न अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति क्षमायाचना गरेका थिए ।
गगनले शक्तिको उन्माद र नेताहरूमा पलाउने अहंकारले जनमत दुर्घटनामा पर्छ भन्नेतर्फ हेक्का राख्न रास्वपालाई आग्रह गरेका थिए । अनि रविले भनेका थिए, ‘रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरु कसैको तागत छैन ।’ गगनले भने जस्तो शक्तिको उन्मादलाई रास्वपाले रोक्न सकेन भने रविले भने जस्तो खगेन्द्र सुनारहरुले छिट्टै लडाउनेछन् रास्वपालाई–अरु कोही चाहिँदैन ।
a
