-केपी शर्मा ओली ।
अधिनायकवादी सरकार चलाउन चाहनेहरूबाट हामीले दुईपटक धक्का खायौं । पहिलो गतबर्ष भदौ २३/२४ को विध्वंशबाट र दोस्रो विध्वंशबाट बनेको सरकारलाई वैधानिकता दिन फागुन २१ गते मञ्चन गरिएको निर्वाचनबाट । अहिले देशमा फाँसीवादी शासन चलिरहेको छ । सरकारबाट जनतामाथि दमनका साथै अपराधपूर्ण काम भइरहेका छन् । देशको भविष्य अफ्ठ्यारोमा परेको छ । उद्योग, व्यवसाय, रोजगारी, अर्थतन्त्र समग्र क्षेत्र अफ्ठ्यारोमा परेका छन् । राजनीति प्रतिगमनतर्फ गएको छ । हाम्रो पार्टीले यस्तो अवस्थाबाट देशलाई पार लगाउनुपर्ने छ । त्यसकारण पार्टी आन्तरिक विवाद र झमेला निकाल्नेतर्फ होइन, आन्तरिक एकताको बाटोमा अगाडि बढ्नु आवश्यक छ । पार्टीमा नीति, विचार र सिद्धान्तमा कुनै विवाद नरहेकाले पार्टी एकभाषा एक आवाजका साथ अगाडि बढ्नुपर्छ ।
पार्टीमा स्थायी कमिटी, पोलिटव्यूरो गठनको काम बाँकी छ । पार्टीमा योगदान गर्नुभएका केही त्यागी साथीहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्नुपर्ने छ । अहिलेको कार्यविभाजन अस्थायी कार्य विभाजन हो । स्थायी कमिटी, पोलिटव्यूरो गठन र मनोनयनको काम सम्पन्न गरिएपछि स्थायी खालको कार्यविभाजन हुने छ । सबैलाई यथोचित ढङ्गले काम दिइने छ । यतिबेला देश सङ्कटमा छ, प्रजातन्त्र अपहरित छ, फाँसीवादी चरित्रको सरकार चलिरहेको अबस्था छ । विना कारण, विना आरोप गिरफ्तार गर्ने र अकारण १३ दिनसम्म प्रहरीको नियन्त्रणमा राखेर मुद्दा चलाउने आधार नभेटिएपछि अदालतको आदेशमा छोड्ने काम भएको छ । रिस उठेको मानिसलाई पहिला पक्रेर थुन्ने, अनि थुन्ने आधार खोज्ने सरकारको फाँसीवादी चरित्र हो ।
म नैतिकता, इमान, बचन र देशभक्तिमा कहिल्यै चुकेको छैन र फेरि पनि चुक्दिन । मैले देश र जनताप्रतिको निष्ठालाई निरन्तरता दिने छु । मलाई पार्टीको ११औं महाधिवेशनले देशमा सिर्जना भएका अफ्ठ्याराहरू, पार्टीका लागि आइपरेका अफ्ठ्याराहरूलाई पराजित गरेर आन्दोलनलाई पार लगाउन भनेर अध्यक्षको जिम्मेवारी दिएको हो । म यो जिम्मेवारी छोडेर भाग्छु कि भन्ने आशङ्का नलिनुहोला । पार्टीलाई अध्यक्षको हैसियतमा हाँक्न महाधिवेशनले जिम्मेवारी दिएको हो । अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिन ।
नेतृत्वका सन्दर्भमा बाहिर जे हल्लाहरू चलिरहेका छन्, ती हल्ला पानीका फोका जस्तै हुन् । नेतृत्व परिवर्तनको प्रश्नै छैन । विधानमा व्यवस्था नभएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक भन्दै केही मानिस उत्ताउलिएर बोल्दै हिडेका छन् । त्यस्तो भ्रममा, अन्यौलमा पर्दै नपर्न अनुरोध गर्दछु । हाम्रो पार्टी फुटाउने प्रयास निरन्तर हुँदै आएको छ । यसपटक पनि छेउकिनारामा प्रयास भइरहेका छन् । त्यसलाई असफल पार्नुपर्दछ । पार्टीका विरुद्ध लाग्ने मान्छेहरु पार्टीमा टिकेका छैनन्, विग्रेका छन् । विगत त्यस्तो छ । धेरै बर्ष पार्टीमा काम गरेका मानिसहरु, नेताहरूले आफूलाई जनवादीबाट राजावादी, गणतन्त्रवादीबाट राजतन्त्रवादी हुँदै नागरिकबाट रैति बनाउने काम गरेका छन् । गलत बाटोमा लाग्नु भनेको पतनको बाटो हो । त्यसबाटोमा नलाग्न म आग्रह गर्दछु ।
पार्टीले चुनाव परिणामबाट धक्का खाएको र पार्टीका लागि प्रतिकूल परिस्थिति सिर्जना भएको अवस्था रहे पनि चुनैतीको सामना गरेर नयाँ परिस्थिति ल्याउने छौं । प्रतिकूल परिस्थिति आउनासाथ हरेश खानुहुँदैन । हाम्रो पार्टी कमजोर छैन । देशका अरु सबैभन्दा बलियो र एकताबद्ध पार्टी हाम्रो पार्टी हो । हाम्रो पार्टी विचारमा सुदृढ छ । पार्टीमा शुद्धीकरण र सुदृढीकरणको प्रक्रिया सञ्चालन गर्दै अनुशासन कायम गरेर धक्काको सामना गर्ने छौं । नेकपा (एमाले) खरानीको डल्लो जस्तो होइन । हामी उठ्ने छौं । निकट भविष्यमा फेरि जित्ने छौं । त्यसका लागि राम्रो काम गर्ने, जनताको विश्वास जित्ने वाहेक अर्को विकल्प छैन । पार्टीको विजयका लागि सक्रिय भएर लाग्नुस् । राष्ट्रिय राजनीतिमा एमालेले फेरि पनि सशक्त भूमिका खेल्ने छ । राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउने छौं ।
(कोशी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई ओलीको भर्चुअल सम्बोधन)
