काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक आफूखुसी पटक–पटक चलाएर गल्ती गरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले अर्थमन्त्री संसदभन्दा माथि नभएको बताए । उनले भने, ‘कसको स्वार्थ र इशारामा करका दरहरू पटक–पटक परिवर्तन गर्नुभयो ? संविधानको मर्मअनुसार कुनै पनि विधेयक संसदको सदनमा पेस भइसकेपछि त्यो सदनको सम्पत्तिको रूपमा रहन्छ । सरकारले त्यसलाई आफूखुसी बदल्न र सच्याउन पाउँदैन । अर्थमन्त्रीज्यू संसदभन्दा माथि हुनुहुन्न ।’
उनले अर्थमन्त्री वाग्लेको यो कदम गैरकानुनी मात्र नभई राजद्रोह भएको बताए । उनले यो विषयको संसदीय छानबिन हुनुपर्ने बताए ।
