काठमाडौं । मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस महासंघका अध्यक्ष जन्दानशातार गोम्बोजाभले सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–मंगोलिया द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा खेलकुदसहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री गोम्बोजाभले नेपालमा बौद्ध धर्मका मूल्य–मान्यता, संस्कृति र चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मंगोलियाले इच्छुक रहेको बताए ।
छलफलमा पूर्वप्रधानमन्त्री गोम्बोजाभले नेपाल र मंगोलियाबीच रहेका भौगोलिक समानताहरूको चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा मंगोलिया र नेपालजस्ता साना मुलुकहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा दुई मुलुकबीच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे ।
मन्त्री खनालले नेपाल र मंगोलियाले भूपरिवेष्टित मुलुकहरूको अधिकार तथा हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताए । उनले मंगोलियाले आफ्ना छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा विश्वस्तरमा पहिचान बनाउन सफल भएको भन्दै त्यसको प्रशंसा गरे ।
