सुदन गृहमा आउनु कुनै नौलो विषय थिएन

-जस्मिन ओझा ।

आज सुदन गुरुङलाई फेरि गृहमन्त्रीको कुर्सीमा फर्काएको छ । मलाई बिल्कुलै अचम्म लागेन, यो त पहिले नै स्क्रिप्ट लेखिएको एउटा भद्दा नाटक थियो । छानबिनको नाटक चलिरहँदा पनि मन्त्रालयमा सुदनकै टोलीको हालीमुहाली थियो । मन्त्रालयका कोठाहरूमा ‘गृहमन्त्रीज्यूले भन्नुभएको छ, यो काम गरिदिनुस्’ भन्दै फाइलहरू घुमिरहेकै हुन्थे । यो सब नाटक उनलाई सुरक्षित अवतरण गराउन मात्र रचिएको हो भन्ने कुराको खुला रहस्य थियो । म त बालेनको कार्यशैली र नियतमाथि अचम्मित छु । विगतका पुराना नेताहरू भन्दा उनी फरक होलान्, नैतिकताको राजनीति गर्लान् भन्ने जुन एउटा ‘बेनिफिट अफ डाउट’ थियो, आज फेरि समाप्त भयो । यदि बालेनमा अलिकति मात्रै पनि राजनीतिक इमानदारिता हुन्थ्यो भने, छानबिन नसकिउन्जेल सुदनका मान्छेहरूलाई मन्त्रालयको ढोका बन्द गर्थे । अरू विकल्पहरू खोज्थे । तर उनले आफ्ना मान्छेका लागि नियम र नैतिकता दुवैलाई धोती लगाइदिए । बालेनले आज बुझेका छैनन् होला, तर इतिहासले उनको यो फोहोरी राजनीतिक सम्झौता र जनतालाई मूर्ख बनाउने खेललाई कहिल्यै माफ गर्ने छैन । उनको ‘सफा छवि’ आज यहीँ मेटियो ।

कुरा निष्पक्षताको हो । दीपक साहको आफ्नै गल्ती थिएन, उनकी श्रीमतीको कुरा आएको थियो, उनलाई हटाइयो । ल ठीक छ, श्रीमतीको गल्ती थियो भने उनलाई हटाउनु पनि सही नै थियो होला, त्यसलाई गलत भन्न मिल्दैन । तर अचम्म त यहाँ निर छ श्रीमतीको गल्ती हुँदा दीपक साह मन्त्री हुन नपाउने, मधेशको छोरो हुनाले सजिलै बलिको बोको बनाइने, तर यहाँ सुदन गुरुङको त आफ्नै प्रत्यक्ष संलग्नता र बदमासी छताछुल्ल हुँदा पनि उनलाई फेरि चोख्याएर गृहमन्त्री नै बनाइने ? आफ्ना मान्छेले गर्दा ‘सबै जायज’, अरूले गर्दा ‘अपराध’? बजेटमा पनि मधेशलाई सधैँ सौतेलो व्यवहार गर्ने, अनि राजनीतिक रूपमा पनि मधेशकै मतमाथि यसरी लात हान्ने ?

यो त ठ्याक्कै केपी ओलीकै प्रवृत्ति भएन र ? ओलीले पनि त हिजो यही गरेका हुन् आफ्ना वरिपरिका जतिसुकै भ्रष्ट र विवादित भएपनि ती सधैँ सही र पवित्र हुने, तर पार्टी र सिद्धान्तको कुरा गर्ने विन्दा पाण्डे र भीम रावलहरू चाहिँ सधैँ गलत र पाखा पारिने । आज बालेन र ओलीमा के फरक रह्यो त ? नाम र अनुहार मात्रै नयाँ, प्रवृत्ति त त्यही पुरानै कुहिएको राजनीतिको कपि–पेस्ट हो । सुदन गुरुङको सम्पत्ति कति छ वा उनले कति कमाए, प्रश्न त्यो मात्रै होइन । प्रश्न उनको केटाकेटीपन, कमजोर बौद्धिकता र अदूरदर्शी कार्यशैलीको हो । यस्ता कमजोर र विवादित सिपाहीलाई फ्रन्टलाइनमा राखेर बालेनले देश बदल्ने कुरा गर्नु हाँस्यास्पद मात्र हो । यसले सरकारलाई बलियो होइन, झन् कमजोर र बदनाम मात्र बनाउनेछ । थुकिएको थुक चाट्ने यस्तो राजनीतिले देश बन्दैन बालेन जी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *