‘टिभीमा देखाउनु भएको नेपालको नक्सा मोदीजीलाई देखाउनु भयो त ?’

काठमाडौँ । नेपालमा प्रधानमन्त्री भएपछि सुरुमा कहिले भारत भ्रमण गर्ने भन्ने नेताहरुको ध्याउन्न हुने गरेको थियो । तर यसपटक त्यस्तो भएन बालेन साह प्रधानमन्त्री भएपछि भने त्यसो भएन । प्रधानमन्त्री बालेनको साटो सुरुमा रास्वपाका सभपाति रवि लामिछाने भारत भ्रमणमा गएका छन् । सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)को निमन्त्रणामा रवि भारत भ्रमण गएका हुन् । भ्रमणका क्रममा रविले भाजपाको मुख्यालय पुग्दा बाजागाजसहित भव्य स्वागत पाएका छन् । रास्वपाका नेताहरुले रविको भ्रमणले गिरिजाप्रसाद कोइरालापछिको महत्व पाएकोरुपमा टिप्पणी गर्न थालेका छन् । रविले गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । रविलाई भारतले गरेको स्वागतले रास्वपा उत्साहित देखिएको छ । हुन पनि झण्डै दुई तिहाईको मत पाएको पार्टीका सभापतिलाई यस्तो स्वागत गर्नु स्वाभाविक नै हो ।

नेपाल र भारतबीच ’रोटी–बेटी’को सम्बन्ध छ । खासमा दुई देशबीच अरु खासै समस्या नभएपछि सीमा समस्या भने लामो समयदेखि रहँदै आएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै फिर्ताका लागि नेपालले पटक पटक पहल गर्दै आएको छ । तर भारतले नेपालको मागमा वेवास्ता गर्दै आएको छ । यसअघि भारतले नेपालको भूमि अतिक्रमण गरेको मुद्दा उठाइरहेकोमा रवि भारत जानु दुई दिनअघि प्रधानमन्त्री बालेन साहले भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिए । यसअघि पनि भारतमा नेपालका प्रधानमन्त्री र कुनै दलका नेता जाँदा द्धिपक्षीय सम्बन्धका विषयमा कुरा हुने गरेका थिए । र रविसँग पनि द्धिपक्षीय सम्बन्धका विषयमा कुरा भएको खबर सार्वजनिक भएको छ । तर मूल मुद्दा सीमा समस्याकाबारेमा चाहिँ कुरा भयो कि भएन त ? यसबारेमा चाहिँ दुबै पक्षले मुख खोलेका छैनन् । अनि विगतमा नेपालको भूमि मिचिएको भन्दै आवाज उठाउँदै आएकामा बालेनले भारतीय पक्षलेसमेत नबोलेको विषय उठान गरेकाले कसरी रवि प्रस्तुत भए भन्ने कौतुहलतको विषय बनेको छ ।

रवि मोदी भेटपछि सामाजिक संजालमा विभिन्न टीकाटिप्पणी भएका छन् । राजनीतिक विश्लेषक डम्बर खतिवडाले रविको भारत भ्रमणले दुई देशको सम्बन्धमा खासै फरक नपर्ने टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘प्रधानमन्त्री बालेनले राज्य–राज्य सम्बन्ध वेवास्ता गरेपछि सशंकित भारतले पार्टी–पार्टी सम्बन्धमार्फत समानान्तर सम्बन्ध अभ्यास गरेको हो । लामिछानेको भारत भ्रमणको सार यत्ति हो । यसले सबैभन्दा ठूलो दबाब बालेन सरकारमाथि सृजना गर्छ । समानान्तर सरकारको सन्देश दिन्छ । दुई देशबीचको सम्बन्ध भने यथावत र स्थीर बिन्दूमा रहन्छ। प्रगति पनि हुँदैन, बिग्रि पनि हाल्दैन।’

राजनीतिक विश्लेषक हरि रोकाको टिप्प्णी छ, ‘ज्वाईँ सज्जन होस् या लम्पट मेजवानी गक्ष अनुसार सबैले गर्छन् । खसी काटे की राँगा ढाले, वा कुखुराको बली दिए ? तरकारी कति किसिम, अचार कति भेराइटी थिए ? यस्ता पाङ्दुर गफ सुनेर वाक्कै भइयो । भाङ्ग्रा नाच त हेरियो । मूलकुरा गएको ज्वाईँसँगै इज्जत राख्ने गरी मैतालु फर्काउँछन् फर्काउँदैनन् भन्ने हो । लक्षणले के भन्छ ? त्यो चाहिँ थाहा हुनेले बोलौन ।’

वरिष्ठ अधिवक्ता राजुप्रसाद चापागाईँले राष्ट्रिय हितको कुरा पनि सरकार परिवर्तन पिच्छे पुनःपरिभाषित गरिने गरेको बताएका छन् । उनको भनाई छ, ‘मोदी र भारतका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा बुज्रुकहरू नेपाल–भारत सम्बन्धबारे जे भन्दै आएका थिए, आज पनि त्यही भनिरहेका छन् । तर यता हामीकहाँ के बोल्ने, के नबोल्ने भन्ने मेलोमेसो नै छैन । राष्ट्रिय हितको कुरा पनि सरकार परिवर्तनपिच्छे पुनःपरिभाषित गर्न खोजिन्छ । नेपालका सबै राजनीतिक शक्ति राष्ट्रिय हितका सवालमा एक ठाउँमा छन् भन्ने सन्देश दिने दिन कहिले आउला ?’

पत्रकार अनिल गिरीले चाहिँ अलि फरक टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘अमेरिकी उच्च अधिकारीहरुको तारन्तारको नेपाल भ्रमण, सरकार प्रो–वेस्टको बन्यो भन्ने चिनियाँ संशय अनि आफ्ना विदेश सचिवलाई नेपालका प्रधानमन्त्रीले भेट्न नमानेको सबै झोक भारतीय नेताहरुले रवि लामिछानेलाई सम्मानको ठूलो भारी बोकेर पठाइ दिए भन्दा गाली त न खाइएला नि ?’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई खासगरी नेपाल–भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता÷संस्कृति (’रोटी–बेटी’) का कुरा गरून्जेल दुबैतिर वाहीवाही हुने तर भित्र अर्को पाटो रहेको बताउँछन् ।

उनी भन्छन्, ‘मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरिको बिरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो । तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौं तर खाष्टोमुनि मुड्की बजारीरहन्छौँ । त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो । त्यसको पनि गाँठी कुरा हो–भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको ’सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोंच । (सीमा विवाद त्यसैको अभिव्यक्ति हो) । अनि अर्कोतिर हामी नेपालीहरूमा गहीरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको बिषयमा सधैं झस्काइरहने ‘सिक्किमीकरण’को खतराको त्रास ! यही जरो कारणले नेपाल–भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भैरहेछ ।’

रवि लामिछानेले टेलिभिजनका काम गर्दा चुच्चे नक्साको खुबै वकालत गर्दै आएका थिए । रविको त्यो अभिव्यक्तिलाई लक्षित गर्दै एमाले नेता गोकुल बास्कोटाले प्रश्न गरेका छन्, ‘साँच्ची, टिभीको ग्रेटर नेपाल पाईयो त रविजी ?टाँय, टाँय फिस।’

नेकपा एमालेका नेता ऐन महरले पनि टिभीमा देखाएको नक्सा मोदीलाई देखाउनुभो त भन्दै रविलाई प्रश्न गरेका छन् । उनको प्रश्न छ, ‘माननीय रवि लामिछानेज्यू, नेपाली जनताकोतर्फबाट तपाईलाई एउटा प्रश्न ! टिभीमा देखाउनु भएको नेपालको नक्सा मोदीजीलाई देखाउनु भयो कि भएन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *