काठमाडौँ । सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ । विसं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को भूमिका निर्वाह गरेका छन् ।
बाल्यकालमै टुहुरो भएका काजीले मागी विवाहमा पाउने श्रीमतीलाई नै आफ्नो संसार बनाउँछन् । एउटा दृश्यमा काजीले ‘मेरो बा, आमा सबै नै श्रीमती (कजिनी) नै हुन्’ भन्ने संवाद बोल्छन्, जसले काजीले आफ्नो कजिनीलाई गर्ने प्रेमका बारेमा ज्ञात गराउँछ । उक्त चलचित्रमा देखाइएको प्रेममा त्याग छ, सहनशीलता छ र मौन स्वीकृतिहरू छन् ।
श्रीमान् र श्रीमतीबीचको प्रेमलाई जति देखाइएको छ, त्यहाँ सामाजिक दबाब पनि सृजना गरिएको छ । वंश अगाडि बढाउने सन्तान नहुँदा चलचित्रमा द्वन्द्व सृजना हुन्छ । काजीलाई उनका काकाले अर्को विवाह गर्न सल्लाह दिन्छन्, तर उनले श्रीमतीबाहेक अन्य सोच्न नसक्ने बताउँछन् ।
यद्यपि, चलचित्रमा कजिनीको बहिनी अर्थात् काजीको साली (गरिमा शर्मा) को प्रवेश सँगै नयाँ मोड आउँछ । काजी र सालीबीचको सम्बन्ध विवाहसम्म पुग्न सक्ने हल्ला समाजमा चलेपछि कजिनीले झुट बोल्ने योजना बनाउँछिन् । उनलाई कुनै पनि सर्तमा काजी गुमाउनु छैन । चलचित्र ‘काजी’ यही वैचारिक द्वन्द्वभित्र रहेर दर्शकसँग संवाद गर्न खोजिरहेको आभाष हुन्छ । चलचित्रमा अभिनेता विपिन कार्कीले काजीलाई परम्परागत नभई प्रेमिल भावमा प्रस्तुत गरेका छन् ।
“यतिसम्म पनि प्रेम गर्न सक्छन् र ? यस्तो पनि प्रेम हुन्छ र भन्ने पात्र हामीले देखाएका छौँ । यो चलचित्रमा मेरो पात्रले आफ्नो संसार नै श्रीमतीलाई मानेपछि केसम्म गर्न सक्छ भन्ने देखाइएको छ । यो अमर रहने एउटा प्रेम कथानक हो”, अभिनेता कार्कीले भने ।
उनी काजी खानदानबाट भएकै कारण काजी त भए, तर सरल छन् । गाउँलेलाई हरेक समस्यामा मद्दत गर्ने पात्र अभिनेता कार्कीले निर्वाह गरेका छन् । अभिनेत्री केकी अधिकारीले ‘काजी’ जस्तो श्रीमान् हरेक महिलाको चाहना हुने बताए ।
उनले भने, “यो एउटा निःस्वार्थ समर्पणको प्रेमकथा हो । अहिलेको पुस्तालाई यस्तो पनि प्रेम हुन्छ र ? भन्ने आभाष चलचित्र हेरेपछि हुन्छ । यसमा श्रीमान् र श्रीमती निःस्वार्थ प्रेम सामाजभन्दा माथि हुन्छ भन्ने देखाइएको छ ।”
निर्देशक लक्ष्मण रिजालले सरल र मन छुने कथालाई पटकथामार्फत चलचित्रका रुपमा तयार गरे पनि सबैभन्दा कमजोरी पटकथामै देखिएको छ । काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो । आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ । तर, चलचित्रमा देखाइएको घटनाक्रम वा पटकथा एकै लयमा बग्दा दर्शकले धैर्यता गुमाउन सक्छन् ।
बारम्बार उस्तै दृश्य र शैली देख्दा सुस्त भएको महसुस हुन्छ । साथै, चलचित्रमा देखिने समस्यासँग मुख्य पात्र भाग्दा दर्शकलाई खिन्न लाग्न सक्छ । अर्थात् कजिनीले झुट बोलेर टिकाउन खोजेको सम्बन्धका लागि काजी लड्छ भन्ने अपेक्षा हुनसक्छ । तर, काजीले रोज्ने सरल बाटोले त्यसमा द्वन्द्व सिर्जना हुन् पाउँदैन । हुन् त काजीले चलचित्र सुरु भएकै केही समयमा आउने दृश्यमा कजिनीलाई असहजता भएमा आफूले लिने निर्णयबारे आफ्नो काका र काकीलाई जानकारी गराइसकेका हुन्छन् । तर, पनि चलचित्रको पात्रले समस्यासँग समना गर्नुपर्नेमा सरल बाटो रोज्नु एउटा मुख्य कमजोरी हो ।
‘काजी’ को अर्को बिर्सनै नसकिने पक्ष यसको सङ्गीत र पाश्र्व ध्वनि हो । यसको बलियो पक्ष छायाङ्कन हो । छायाँकार चिन्तनराज भण्डारीले आजभन्दा झन्दै तीन दशक अगाडिको समयलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् । बिजुली नहुँदा लालटिन वा टुकी बत्तीको समयलाई उनले दुरुस्तै उतारेका छन् ।
काजी (विपिन कार्की) को चरित्र एउटा ‘आदर्श प्रेमी’ को प्रतीक हो । ‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, कलाकारको अभिनयले मन लोभ्याउन सक्छ तर जाँदाजाँदै दिइएको सन्देश र मुख्य द्वन्द्व फितलो हुँदा दर्शकलाई खिन्न बनाउन सक्छ । समग्रमा चलचित्र ‘काजी’ प्राविधिक हिसाबले जति बलियो छ, कलाकार अभिनयको जति सुन्दर र जीवन्त छ । पटकथा त्यति नै कमजोर छ ।
