काठमाडौं । नेपाली कांग्रेस नागार्जुन नगरपालिकाका निवर्तमान सभापति दुर्गाप्रसाद गौतमले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ९ बाट महाधिवेशन प्रतिनिधिमा पेशागत विषय विशेषज्ञतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।
क्षेत्रीय प्रतिनिधिहरूलाई अपील जारी गर्दै गौतमले पार्टीमा वैचारिक ऊर्जा र संगठनात्मक सक्रियता बढाउन योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएका छन्।
२०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका गौतमले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनी १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिको सभापतिमा निर्वाचित भएका थिए। हाल उनी क्षेत्र नम्बर ९ का क्षेत्रीय प्रतिनिधि छन्।
गौतमले कांग्रेसले २०४५ सालदेखि सञ्चालन गरेका विभिन्न आन्दोलन तथा राजनीतिक गतिविधिमा आफू सक्रिय रूपमा सहभागी हुँदै आएको उल्लेख गरेका छन्।
शिक्षण तथा शैक्षिक क्षेत्रमा लामो समय काम गरेका गौतमले हिमालय कलेज कोटेश्वरमा २०५८ देखि २०७१ सम्म क्याम्पस प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए। त्यसपछि ग्रामीण आदर्श कलेज नेपालटार, जनप्रशासन क्याम्पस बल्खु र भीएस निकेतन कलेजमा विभिन्न तहमा अध्यापन गरेका थिए।
उनी सीतापाइलास्थित आर्य एकेडेमिक माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपलसमेत हुन्। समाज कल्याण परिषद्मा स्वतन्त्र कार्यक्रम विज्ञका रूपमा एनजीओ तथा आईएनजीओको अनुगमन र मूल्यांकनमा समेत काम गरेको उनले बताएका छन्।
गौतमले अर्थशास्त्रसम्बन्धी विभिन्न पुस्तक लेखन तथा सहलेखन गरेका छन्। उनका राजनीतिक, आर्थिक तथा समसामयिक विषयमा सात दर्जनभन्दा बढी लेख राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको दाबी छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए कांग्रेसलाई यस क्षेत्रमा थप वैचारिक रूपमा सक्रिय र ऊर्जाशील बनाउन भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
