-नारायण गाउँले ।
यतिबेला सिङ्गो विश्व ‘कस्ट अफ लिभिङ क्राइसिस’ बाट गुज्रिरहेको छ । खाद्यान्नदेखि औषधिउपचारसम्म सबै महँगो र गरिबका लागि निकै कष्टसाध्य बन्दै गएका छन् । हरेक संसद र सरकारको मुख्य चिन्ता र चासोको विषय नै महँगीले आम सर्वसाधारणको जीवन–निर्वाहमा पारेको गम्भीर असर हुने गरेको छ । दिनदिनै जसो सरकार प्रमुखले यो मुद्दामा आमजनतालाई सम्बोधन गर्छन्, कर–कटौतीदेखि राहत–प्याकेजसम्मका घोषणा गर्छन् ।
हामीचाहिँ अलि अलग नै छौं । हाम्रो संसदमा प्रधानमन्त्रीले बोल्न पर्छ कि पर्दैन भन्ने मुद्दामा बहस हुन्छ । कुन कानुनमा, कुन धारामा र कुन अनुच्छेदमा बोल्न पर्ने या नपर्ने भनेर लेखेको छ भन्ने खोज र चिन्ता हुन्छ । बाझाबाझ हुन्छ । एउटालाई नबोल्नु गलत हो भन्ने सिद्ध गर्नु छ । अर्कोलाई बोल्दै नबोल्नु नै महान् हो भन्ने साबित गर्नु छ । दुबै थरी व्यस्त छन् । निमुखाको चुलोबारे बहस गर्ने फुर्सत हामीसँग छैन ।
बजेटले पनि अलिकति कोसिस गर्न खोजेको त देखिन्छ तर यस्तो क्राइसिसका बेला बाटो बिराएजस्तो पनि देखिन्छ । उच्च तहको काम र कमाइ मानिने अधिकृतले समेत आयकर तिर्न नपर्ने व्यवस्था हुन्छ तर कत्ति नकमाउनेले समेत बिजुली बाल्दा या अस्पताल जाँदा कर तिर्नपर्ने नयाँ टन्टा थपिन्छ । कमाउनेले तिर्ने भन्ने सूत्र पनि यसमा मिलेजस्तो लाग्दैन । घरमा एउटा साइनबोर्ड झुन्ड्याए पनि स्थानीय सरकार इन्च नापेर कर उठाउन आइपुग्छ ।
यस्तो क्राइसिसमा ग्यास बाँड्न सकिन्न तर कम्तिमा आफ्नै उत्पादनको बिजुली त सहुलियत दरमा दिने नीति आएको भए पनि हुने । बाध्यताले पुग्नुपर्ने अस्पतालको खर्च नबढ्ने कुरामा ध्यान पुर्याएको भए हुने । हाम्रो ध्यान हीराको कर घटाउनेतिर किन गएको होला ? घरबार गुमाएर पालमुनि बस्दै आएका सुकुम्बासी पनि छँदै छन् । अब समयमा मल नपाउने किसानको पीडा पनि थपिन्छ ।
एकदम सर्वसाधारणको लागि, यो जीवन धान्न मुश्किल बन्दै गएको महँगी नियन्त्रणका लागि, बिहान–बेलुका मजदुरी गरेर आफ्नो बच्चा राम्रो पढोस् भन्ने चाहनेका लागि, बजारबाट पोषक खाद्यान्न र तरकारी कहिल्यै किन्न नसक्ने र कुपोषणको शिकार भएको निम्न वर्गका लागि, विश्वव्यापी ऊर्जा र आर्थिक सङ्कटले व्यवसाय नै धरापमा परेकाका लागि पनि कसैले केही सोच्ला कि ? संसदमा जनजीविका र निर्वाहको, लत्ताकपडा र भान्छाको समस्याबारे पनि बहस होला कि ? बोल्ने र नबोल्ने प्रतियोगिताबाट माथि उठेर आमजनताको मुद्दामाथि चासो र चिन्ता व्यक्त होला कि ? कि हामी सधैँ यस्तै हो ?
