काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशले नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन दुईवटा बेली ब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहितको आपत्कालीन राहत सहायता नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार तिब्बत स्वायत्त प्रदेशबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको शिगात्सेस्थित रिच बन्दरगाहमा नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
हस्तान्तरणस्थलमा चिनियाँ र नेपाली भाषामा “साझा हिमाल, साझा नदी—सुख–दुःखमा सँगै : तिब्बत नेपाललाई सहयोग गर्न दौडिन्छ” भन्ने ब्यानर राखिएको थियो । दूतावासका अनुसार उक्त सन्देश विपद्को समयमा चीन र नेपालका जनताबीचको एकता तथा पारस्परिक सहयोगको भावनाको प्रतीक हो ।
चिनियाँ दूतावासले दिएको जानकारीअनुसार राहत सामग्रीमा बेली ब्रिजका प्यानल, प्रबलित सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ तथा आई–बीम लगायतका सामग्री रहेका छन् । यी सामग्रीबाट दुईवटा बेली ब्रिज निर्माण गर्न सकिनेछ ।
नेपालका पहिरो तथा बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त यातायात सम्पर्क पुनःस्थापना गर्न तथा उद्धार र राहत कार्यलाई सहज बनाउन ती सामग्री प्रयोग गरिने दूतावासले जनाएको छ ।
यसै दिन ल्हासामा तिब्बत स्वायत्त प्रदेशको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच राहत सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रमसमेत आयोजना गरिएको दूतावासले जनाएको छ । कार्यक्रममा नेपालका लागि ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए ।
चिनियाँ दूतावासका अनुसार नेपाली पक्षले विपद्पछि चीनले गरेको शीघ्र प्रतिक्रिया र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको थियो । तिब्बत स्वायत्त प्रदेशको समयमै उपलब्ध गराइएको सहयोगले साझा हिमाल र नदीले जोडिएका दुई क्षेत्रबीचको गहिरो मित्रता तथा कठिन समयमा एकअर्कालाई सहयोग गर्ने भावनालाई प्रतिबिम्बित गरेको नेपाली पक्षले जनाएको थियो ।
दूतावासले यस सहयोगलाई चीन–नेपालबीच साझा भविष्यको समुदाय निर्माण गर्ने अवधारणाको व्यवहारिक अभ्यासका रूपमा समेत प्रस्तुत गरेको छ ।
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोपछि चीनले विभिन्न माध्यमबाट नेपाललाई आपत्कालीन राहत तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । पछिल्लो सहयोगमा तिब्बत स्वायत्त प्रदेशबाट उपलब्ध गराइएको महत्वपूर्ण पुल निर्माण सामग्री पनि थपिएको छ ।



