काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘मठ–मन्दिरमा आगो लाइदिन्छौं’ भन्ने अभिव्यक्ति दिएको अभियोगमा ती युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बस्दै आएका २७ वर्षीय जनक परियार छन् । परियार जेनजी युनाइटेडका संयोजक पनि हुन् । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार धार्मिक सद्भाव बिग्रने खालका गतिविधि गरेको पाइएपछि परियारलाई पक्राउ गरिएको हो ।
