लोकतान्त्रिक संरचना कमजोर बनाउने प्रवृत्तिप्रति सचेत रहन ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थामाथिको विश्वास जोगाउनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । ओलीले जनताले आफ्ना लागि आफैँ शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको स्मरण गर्दै हजारौँ अग्रजले जीवन बलिदान गरेको उल्लेख गरेका छन् । उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न कयौँले जेल, यातना र निर्वासन समेत भोग्नुपरेको बताएका छन् ।

’जनताले आफ्ना लागि आफैँले शासन प्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नु पर्यो,’ अध्यक्ष ओलीले भनेका छन्, ’बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्ने क्रममा हजारौँ अग्रजहरुले जीउज्यान अर्पण गर्नुपर्यो । कयौँले दशकौँ लामो जेलनेल, यातना र निर्वासन समेत भोग्नु पर्यो ।’

अध्यक्ष ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने प्रणाली अन्त्य भई कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अंग र संरचनाबाट सञ्चालन हुने पद्धति स्थापित भएको उल्लेख गर्दै उनले गणतन्त्र नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताए ।

सन्देशमा उनले भनेका छन्, ‘गणतन्त्र– शासन प्रणाली परिवर्तनको मात्रै विषय थिएन, यो नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण पनि थियो । शताब्दीयौँसम्म ’प्रजा’ भएर बाँचेको समाज, आफैँले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो । परिवर्तित अभ्यासमा परिपक्वता आउन अवश्य पनि लामो समय लाग्छ, हामीले पनि त्यस्तै अनुभव गरेका छौँ ।’

ओलीले छोटो अवधिमै सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन् । उनले गाउँगाउँमा पुगेको स्थानीय सरकार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको बढ्दो प्रतिनिधित्व, नागरिक स्वतन्त्रता, डिजिटल सेवा, सडक तथा सञ्चार विस्तारलाई उनले गणतन्त्रका उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

यद्यपि, परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै उनले असन्तुष्टिलाई वैधानिक रूपमा सम्बोधन गर्ने माध्यम पनि लोकतान्त्रिक प्रणाली नै भएको बताए । उनले जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास फैलाउने र भावनालाई उक्साएर लोकतान्त्रिक संरचना कमजोर बनाउने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरेका छन् । यस्तो प्रवृत्तिले लोकतान्त्रिक अधिकार कमजोर भई अधिनायकवाद बलियो बन्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।

‘लोकतन्त्रका संस्थाहरू कमजोर भए कुनै पनि समाज बलियो रहँदैन,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रका अंगहरूको रक्षा गर्नु भनेको हाम्रो भविष्यको रक्षा गर्नु हो ।’

गणतन्त्र दिवसका अवसरमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका कठोर संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा शान्त मनले चिन्तन गर्न सबैमा आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *