काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय कमिटीका नेतालाई जिम्मेवारी प्रदान गरेको छ । पछिल्लो पटक बसेको सचिवालय बैठकको केन्द्रीय कमिटीका नेताहरुको जिम्मेवारी तोकेको हो । स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको एमालेले घोषणा गरेको छ ।
बैठकका निर्णयलाई मातहतका कमिटीमा अन्तरपार्टी निर्देशन (अपानि) २ जारी गरी यो अभियान घोषणा गरिएको हो । अपानिमा नेताहरूको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।
एमालेले गरेको कार्यविभाजनअनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ ।
९ मध्ये ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ ।
सचिवहरू छविलाल विश्वकर्मालाई लुम्बिनी इन्चार्ज, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, यामलाल कँडेललाई कर्णाली इन्चार्ज, शेरधन राईलाई कोशी इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ ।
