बीबीसी । हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मंगलबार तीन सातायताकै न्यून स्तरमा झरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग भइरहेको कूटनीतिक प्रयासमा प्रगति भएको जनाउँदै यही साताभित्र जलडमरूमध्यमार्फत तेल ढुवानी पुनः सुरु हुन सक्ने आशा व्यक्त गरेका छन्।
यससँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि पाँच प्रतिशतभन्दा बढीले घटेर प्रतिव्यारेल ७६ डलरमा झरेको छ। दुवै सूचक जुलाई १३ यताकै सबैभन्दा न्यून स्तरमा पुगेका हुन्।
रुबियोले इरान र ओमानसँग हर्मुज जलडमरूमध्यमार्फत जहाजको आवतजावत सहज बनाउने विषयमा भएको वार्तामा सकारात्मक प्रगति भएको बताए। यद्यपि अन्तिम सहमति हुन भने बाँकी रहेको उनको भनाइ छ।
यस्तै, अर्थमन्त्री बेसेन्टले मंगलबार वा बुधबारसम्म जलडमरूमध्य पुनः खोल्ने सहमति हुन सक्ने सम्भावना रहेको बताएका छन्। उनले सम्भावित सहमतिले समुद्री मार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
यद्यपि अमेरिकी अधिकारीहरूले वार्ता सकारात्मक दिशामा अघि बढेको बताए पनि सम्भावित सहमतिका सर्त वा स्वरूप सार्वजनिक गरिएको छैन।
उता इरानले भने आफू अमेरिकासँग कुनै प्रत्यक्ष वार्तामा नरहेको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार हर्मुज जलडमरूमध्यमार्फत जहाज सञ्चालनका लागि नयाँ संयन्त्रबारे ओमानसँग भएको छलफल सकारात्मक रहेको छ।
अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारले पनि कूटनीतिक समाधानका लागि प्रयास जारी रहेको जनाएको छ। तर हाल प्रत्यक्ष वार्ताको कुनै कार्यक्रम तय नभएको स्वीकार गरेको छ।
