रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम विस्तारसम्बन्धी प्रस्तावमा चाँडै निर्णय गर्ने बताएका छन् । तर, आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रोयटर्सका अनुसार ट्रम्पले ह्वाइट हाउसको ‘सिचुएसन रुम’ मा बसेर प्रस्तावित सम्झौताबारे अन्तिम निर्णय गर्ने बताएका हुन्। उक्त प्रस्तावअनुसार अप्रिलको सुरुवातमा भएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याइनेछ।
ह्वाइट हाउसका एक अधिकारीले बैठक करिब दुई घण्टा चलेको जानकारी दिएका छन्। तर, ट्रम्पले अन्तिम निर्णय गरिसकेका छन् वा छैनन् भन्नेबारे खुलाइएको छैन।
‘राष्ट्रपति ट्रम्पले अमेरिका र आफ्ना स्पष्ट सर्तअनुकूल हुने सम्झौता मात्रै गर्नेछन्। इरानले कहिल्यै पनि आणविक हतियार राख्न पाउने छैन,’ ती अधिकारीले भने। इरानका एक उच्च स्रोतले भने सम्झौता नजिक पुगे पनि अन्तिम स्वीकृति हुन बाँकी रहेको बताएका छन्।
यसैबीच, ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य तत्काल खोल्नुपर्ने र आणविक हतियार निर्माण क्षमता अन्त्य गर्नुपर्ने सर्त अघि सारेका छन्। तर, तेहरानले यी सर्तहरू स्वीकार नगरेको जनाइएको छ।
‘होर्मुज जलडमरूमध्य तुरुन्त खुला हुनुपर्छ, कुनै शुल्कबिना दुवैतर्फ निर्बाध ढुवानी सञ्चालन हुनुपर्छ,’ ट्रम्पले बताएका छन्।
इरानको अर्धसरकारी समाचार संस्था फार्सले ट्रम्पको अभिव्यक्तिलाई ‘कृत्रिम विजय देखाउने प्रयास’ भनेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले जलडमरूमध्यको व्यवस्थापनबारे निर्णय इरान र ओमानले गर्ने बताएका छन्। फार्सका अनुसार अमेरिकाले इरानी जहाजमाथिको नाकाबन्दी हटाएपछि मात्रै तेहरानका सर्तअनुसार जलडमरूमध्य पुनः खोलिनेछ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने नाकाबन्दी हटाइए पनि त्यो क्रमिक रूपमा गरिने बताएका छन्। फार्सले इरानको रोक्का गरिएको १२ अर्ब डलर बराबरको सम्पत्ति फुकुवा गर्ने सहमति भएको दाबी गरेको छ। तर, ट्रम्पले ‘अर्को सूचना नभएसम्म कुनै रकम आदानप्रदान नहुने’ बताएका छन्।
नोभेम्बरमा हुने अमेरिकी संसदीय निर्वाचनअघि पेट्रोलियम मूल्य नियन्त्रण गर्न ट्रम्पमाथि दबाब बढिरहेको छ। बढ्दो ऊर्जा मूल्य र होर्मुज जलडमरूमध्यको अवरोधले विश्व अर्थतन्त्रमा समेत असर परेको बताइएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको युद्धमा मुख्यतः इरान र लेबनानमा हजारौँ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
