मानव अधिकार आयोगको प्रतिवेदनमा नाम समावेश भएपछि के भन्छन् रास्वपाका सांसद ?

काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनामा राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित रास्वपाका १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ । सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै आयोगले यसबारे अनुसन्धान गर्न आग्रह गरेको छ । कारागारबाट यसरी बाहिरिनु कारागार ऐन, २०७९ को दफा ४९ अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ । सभापति लामिछाने जेलबाट बाहिरिएको घटनामा रास्वपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले अनुसन्धान गर्न भनेको छ । आयोगले रास्वपा सांसदहरू गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादवमाथि आयोगले सुक्ष्म अनुसन्धानको सिफारिस गरेको छ । आयोगले डामेपछि केही सांसदले सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छ ।

राजीव खत्री

सुन तस्कर, रक्तचन्दन तस्कर, खाग तस्कर, बालुवा तस्कर, काठ तस्कर, मानव तस्कर र नेताका छोराछोरीहरुको कुकर्मको भण्डाफोर हुने अभियानलाई स्वागत गरेकै हो । मानवता मरेपछि, मानवीयता सकिएपछि, संवेदना नरहेपछि, गाडीले हानेर जमिनमा लडेकी बालिका नउठाएपछि विरोध गरेकै हो । छातीमा गोली, टाउकोमा गोली, अबोध बच्चा माथि गोली, मानवीय सभ्यता माथि गोली चलेपछि चिच्याएकै हो । भ्रष्ट्राचारमा–आममाफी, बलात्कारमा–आममाफी, हत्यामा–आममाफी, मानव बेचबिखनमा – आममाफी भएपछि कानुनी राजको माग गरेकै हो । नेपालमा जंगलराज हो कि जंगलराजमा नेपाल हो, भनेर छुट्यान नसक्दा अकमक्क परेकै हो । गणतन्त्र हो कि अप’राधतन्त्र हो भनेर तिन छक्क परेकै हो ।

तीनकुनेमा रेविका खत्रीको तिघ्रामा गोली छेडिँदा ढुंगा बोल्यो तर ठूला–ठूला पजेरो चढ्नेहरु बोलेन । त्यसैले नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक छ भनेर टेलिभिजवबाट घोक्रो फुट्ने गरि चिच्याएकै हो । तीनकुनेमै उछृङ्खल, अराजक, उदण्ड, असहिष्णुहरुको झुण्डले पत्रकार सुरेश रजकसहितका मान्छेहरू मारेर सामुहिक भोज खाए । नरभक्षी बढ्नु, मानवता मर्नु, पीडादायी छ तर बोल्नु पर्ने निकाय किन बोलेन भनेर प्रश्न गरेकै हो । बोल्न नसक्ने ’आयोग’ का पदाधिकारीहरु हटाउनु पर्छ पनि भनेकै हो । परिवर्तनकालागि शान्तिपूर्ण जेनजी विद्रोहमा समर्थन जनाएकै हो । भ्रष्टाचार, हत्या, बलात्कार, वेथिती, कुशासन विरुद्ध सचेततापूर्वक खवरदारी गर्न युवाहरुलाई आव्हान गरेकै हो । जे होस् आज मानव अधिकार आयोगको प्रतिवेदनमा अनुसन्धान गर्नुपर्ने भन्दै मेरो पनि नाम राखेको रहेछ । गज्जव ! अनुसन्धानको सुरुवात म बाट होस् । अरु थप मेरो संलग्नता पुष्टि भए जुनसुकै कारबाही भोग्न तयार छु ।

गणेश कार्की

मानव अधिकार आयोगको प्रतिवेदनमा भदौ २३ र २४ प्रदर्शनका आह्वानकर्ता, अभियन्ता, समर्थकसमेतका व्यक्तिहरु भनेर मसँग मिल्ने नाम लेखिएको पाएँ । त्यो म हो कि होइन ? हो भने मलाई आह्वानकर्ता वा अभियन्ता वा समर्थक कुन व्यक्तिकारूपमा अनुसन्धानको माग गरिएको हो ? शान्तिपुर्ण आन्दोलनमा आह्वानकर्ता, अभियन्ता, समर्थक के हुँदा चै अनुसन्धानको भागिदारी भइन्छ ? आयोगले प्रस्ट पारोस् ।

मानव अधिकार आयोगले कुन प्रमाण भेट्यो, सार्वजनिक गरोस् । मैले कुनै ठाउँमा उत्तेजक भाषण दिएँ कि, कुनै ठाउँमा ढुंगा हान्दै गरेको भेटिएँ कि, कुनै ठाउँ जलाउँदै गरेको वा जलाए पछि पुगेको वा निस्किदै गरेको कुनै प्रमाण छ कि, के छ मेरोबारेमा त्यो प्रमाण सार्वजनिक गरोस् र ममाथिको अनुसन्धान मानव अधिकार आयोगसँग भएको प्रमाणकै आधारबाट अगाडि बढोस् । ममाथि अनुसन्धान हुनुपर्छ । २३ गते मैले आफैले हालेको फोटो बिगारेर २४ गते सिंहदरबार जलाएँ भन्दै गरेको फोटो बनाएर विरोधीले भाइरल गराएकोबारेमा पनि अनुसन्धान हुनुपर्छ । जितिसक्नु भो, देश सम्हाल्नु, आगजनी नगर्नु भन्दै फेसबुकमा मैले पटक पटक लेखेको, भिडियो बनाएको पनि ध्यानमा लिनु पर्छ । आत्तिएको बेला संसद भवन जल्न सुरू भयो भनेर दिएको सूचना र, शान्तिपुर्ण आन्दोलन चलिरहेको बेलामा त्यसमै अडिग रहनुहोला भनेको कुरालाई बंग्याएर भएका मिडियाबाजी र चरित्रहत्याको पनि अनुसन्धान हुनुपर्छ ।

मैले भदौ २३ र २४ सम्बन्धित कुनै पोस्ट न मेटेको छु, न सम्पादन गरेको छु । सबै जस्ताका तस्तै छन् । हेरे हुन्छ । देखिन्छ । मानव अधिकार आयोगले के हेर्यो, के देख्यो, के भेट्यो भन्ने सार्वजनिक होस् । मलाई कुनै कुरा लुकाउनु छैन । स्मरणका लागि, सरकारको कुशासनको विरूद्धमा लेखेकै हुँ । शान्तिपूर्ण आन्दोलनमा जेनजीको नेतृत्व स्वीकार्दै एक पाना पर्चामात्रै बोकेर सडकमा उभिएकै हुँ । मानव अधिकारले त्यो अनुसन्धानको बिषय भन्छ कि भन्दैन ? आयोगले जवाफ दिनैपर्छ ।

हरि ढकाल

युद्ध हुँदाहुँदै लेखिएको होइन महाभारत, युद्ध सकिएको धेरैपछि लेखिएको हो । युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस्। युद्ध सकिएपछि ढुक्कसँग लेखौँला । युद्ध हुँदाहुँदै लिपिबद्ध भएको चाहिँ गीता हो, जसमा सत्यको अनमोल सुगन्ध छ । स्मरण रहोस्, महाभारतमा अभिमन्युको बलिदानीपछि नै युद्ध झन् बढी भड्किलो बनेको थियो। युद्ध सकियोस्, अनि कथा लेखौला । युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोका जस्तै अस्थायी हुन्छ । युद्ध जारी छ। अरू केही समयसम्म चलिरहन्छ । बर्बरिकले देखे जस्तै वा संजयले देखे जस्तै तटस्थ भावले युद्ध हेर्नुहोला।

आशिका तामाङ

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा मेरो नामसमेत उल्लेख गरिएको विषयप्रति मेरो गम्भीर आपत्ति र ध्यानाकर्षण भएको छ । म आशिका तामाङ विगत २०१८ सालदेखि भ्रष्टाचार, कुशासन, अन्याय र राज्यका गलत प्रवृत्तिविरुद्ध खुलेर बोल्दै आएको व्यक्ति हुँ । जर्मनीबाट नेपाल फर्किएपछि म एक्लै भएपनि अन्यायविरुद्ध कराउँदै, बोल्दै र सडकदेखि सामाजिक सञ्जालसम्म आवाज उठाउँदै आएको छु । उमेरले जेनजी नहुँला, तर मनले सधैं युवा पुस्ताको पीडा, आक्रोश र आशासँगै उभिएको छु । तर आज मलाई दुःख लागेको कुरा के हो भने ,आयोगले मेरो नाम लेख्दा मैले अस्पताल–अस्पताल पुगेर गोली लागेका घाइते भाइबहिनीहरूको अवस्था बुझेको देखेन । पीडित परिवारको आँसु पुछ्न गएको मेरो मानवता देखेन, राष्ट्रिय मानव अधिकार आयोगले ? तर मेरो अभिव्यक्ति भने देखेछ । मैले कसैलाई हिंसा गर्न उक्साएको छैन । मैले आगजनी गरेको छैन । मैले तोडफोड गरेको छैन । मैले निर्दोषमाथि गोली चलाएको पनि छैन । मैले केवल अन्यायविरुद्ध बोलेको हुँ । मलाई अझ एउटा कुरा ले के झस्काएको छ भने , यही केपी ओली नेतृत्वको सरकारले मलाई १८ दिन हिरासतमा राखेको थियो । त्यो बेला मेरी छोरी जम्मा ३ वर्षकी दुधे बालिका थिइन् । त्यो बेला मेरो पीडा, मेरो परिवारको पीडा र राज्यको अन्याय मानव अधिकार आयोगले किन देखेन ?? त्यो बेला आयोग कुन दुलो मा थियोे ??आज अचानक मेरो अभिव्यक्तिमाथि प्रश्न उठाउन यो आयोग कहाँबाट टुप्लुक्क आइपुग्यो ? यदि अनुसन्धान गर्ने हो भने हिसाब–किताब त्यहीँबाट होस् । अनुसन्धान त्यहीँबाट सुरु होस् । मैले बोलेका शब्द मात्र होइन, मैले भोगेका अन्याय पनि हेरियोस् । म सम्बन्धित निकायलाई स्पष्ट रूपमा भन्छु मेरो कुन अभिव्यक्ति, कुन गतिविधि र कुन भूमिकाले हिंसा भड्कायो भन्ने तथ्य सार्वजनिक गरियोस् । निष्पक्ष अनुसन्धान गरियोस् । सत्य लुकाएर लुक्दैन । जनताको पक्षमा बोलेको आवाज दबाएर सत्य समाप्त हुँदैन । भगवान पशुपतिनाथले सत्य र न्यायको सधैं रक्षा गरून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *