काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारित समयमा काम नगर्ने ११ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले रमण–पटेल जेभीसहित ११ कम्पनीलाई कालोसूचीमा राखेको हो ।
रमण कन्स्ट्रक्सनले भारतको पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि ठेक्का पाएको थियो ।
तर, काममा ढिलासुस्ती गरेकाले गत वर्ष कात्तिक २५ गते आयोजनाले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
त्यसैगरी कार्यालयले फ्रेन्ड्स कन्स्ट्रक्सन, रिदम कन्स्ट्रक्सन, पन्थ/तारालक्ष्मी जेभी, के.एम. कन्स्ट्रक्सन, टेक एण्ड सपना कन्स्ट्रक्सन प्रालि, एबिसि निर्माण सेवा, गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभीलाई पनि कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।

