अन्ततः विन्दा र उषाकिरणको जित

काठमाडौँ । २०७२ को गोरखा भूकम्पका कारण मदननगर बल्खुमा रहेको नेकपा एमालेको मुख्यालय भत्किएको थियो । मुख्यालय भत्किएको लामो समयसम्म पनि उसले त्यहाँ भवन बनाउने कुनै सुरसार गरेको थिएन । यहीबीचमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १० असोज २०८१ मा कीर्तिपुरमा १० रोपनी जग्गा दिने र त्यसमा भवनसमेत बनाइदिने घोषणा गरे । गुरुङको प्रस्तावलाई एमालेले सहर्ष स्वीकार गर्यो र २०८१ असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्री नगरमा रहेको १० रोपनी १४ आना जग्गामा एमाले अध्यक्ष केपी शर्मा ओली(त्यतिबेला प्रधानमन्त्री) दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास गरे । एमालेले मीनबहादुर दान दिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै धेरै आलोचना भएको थियो । बाहिर जति आलोचना भएपछि पार्टीभित्र भने कमै आलोचना भएको थियो । तर पार्टीमा दुई नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले भने सामाजिक संजालमार्फत जग्गा दान लिने निर्णयको विरोध गरेका थिए । अरु नेताहरुले सार्वजनिकरुपमा कुनै विरोध गर्न सकेनन् ।

एमाले स्थायी कमिटी सदस्य बिन्दा नेपालीले साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम फिर्ता लिन माग गरिन् । उनले व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भएपनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गÞलत भएको बताइन् । उनले सामाजिक संजालमा लेखिन्, ’दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्किसकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।’

यस्तै अर्की नेतृ उषाकिरण तिम्सेनाले पनि व्यावसायीबाट पार्टी कार्यालय दान लिने निर्णय फिर्ता लिन माग गरिन् । यसरी जग्गा दान स्वीकार गर्ने पार्टी निर्णयको विरोध गरेकोमा पुस १० गते बसेको सचिवालय बैठकले पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गर्ने निर्णय गर्यो । त्यही बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गर्यो ।

कारबाही गरेपनि उनीहरुले जग्गादान लिने पार्टी निर्णयको विरोध गरिरहे । पछि २०८२ असार ११ बसेको सचिवालय बैठकले पाण्डे र तिम्सेनमाथिको कारबाही फुकुवा गर्यो ।

त्यसबीचमा व्यापारीबाट जग्गा दान लिएर एमालेले पार्टी कार्यालय बनाउन लागेकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा पनि पर्यो । तर पछि सर्वोच्चले दान लिन पाउने भन्दै भवन निर्माणका लागि रोक्न नमिल्ने आदेश दियो । एकवर्षमा भवन निर्माण गरी हस्तान्तरण गर्ने गुरुङले घोषणा गरेका थिए । तर सर्वोच्चमा मुद्दा परेका कारण भवन सिलान्यास भएपनि निर्माण सुरु हुन पाएको थिएन । तर गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । प्रधानमन्त्री ओलीको नै हेलिकप्टरबाट उद्दार गर्नुपरेको थियो । एमालेसँग नाम जोडिएकाले मीनबहादुरले ठूलो क्षति बेहोर्नुपर्यो । जेनजी आन्दोलनमा भाटभटेनी सुपर मार्केटका देशभर रहेका १२ शाखा पूर्ण रूपमा ध्वस्त पारियो । उनको अर्बौं रुपैयाँ बराबरको क्षति भयो ।

गत फागुन २१ मा निर्वाचन भयो । निर्वाचनबाट रास्वपा झण्डै दुई तिहाई मतका साथ विजयी भयो । नेकपा एमालेको सर्मनाक पराजय भयो । त्यसपछि शुक्रबारदेखि आइतबारसम्म चलेको नेकपा एमालेको सचिवालय बैठकले नै बल्खुमै नयाँ कार्यालय भवन निर्माण गर्ने निर्णय गर्दै मीनबहादुर गुरुङबाट दानमा भवन लिने निर्णय उल्ट्याएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता मीनबहादुर गुरुङ दम्पत्तिलाई धन्यवाद सहित उनीहरुको प्रस्ताव फिर्ता गर्ने र नयाँ कार्यालय भवन मदननगर बल्खुमै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उनको बोली र व्यवहारप्रति एक तहका नागरिककोसमेत आक्रोश थियो । ओलीप्रतिको आक्रोश र मीनबहादुरको नाम एमालेसँग जोडिएकै कारण भाटभटेनी सुपरमार्केट निशानामा परेको टिप्पणी भइरहेका छन् । पार्टीले गलत निर्णय गरेको भन्दै विरोध गर्दा नेतृहरु पाण्डे र तिम्सेनाले कारबाही खेप्नु परेको थियो । आखिर पाण्डे र तिम्सेनाले भनेजस्तै जग्गा दान लिने निर्णय त्यतिबेला अस्वीकार गरेको भए न आज एमालेको हालत यस्तो थियो न मीनबहादुरले यत्तिको क्षति बेहोर्नुपर्ने थियो होला । जो होस् ढिलै भएपछि एमालेले अन्ततः निर्णय सच्याएको छ । अनि पार्टीले कारबाही गरेपनि पार्टी नछाडी दृढ भएर पार्टीमै काम गरिरहेका दुई नेतृ पाण्डे र तिम्सेनाको जित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *