दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ ।

पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक  नैतिकता, शिष्टचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्नेलगायत अभिव्यक्ति दिएकाले नियन्त्रणमा लिएको जानकारी दिए ।

“नेपाल सरकारको काम कारबाहीको सम्बन्धमा कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न किसिमको अमर्यादित तथा अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिएकाले सोमबार वीरगञ्जको सिद्धार्थ दियालो होटलबाट रातको समयमा नियन्त्रणमा लिएर उहाँलाई  विद्युतीय ( इलेक्ट्रोनिक) कारोबार ऐन र राज्य विरुद्धको कसुरमा सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *