एक महिनामा २ सय ५ अपराधका मुद्दा दर्ता

नेपालगन्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानअन्तर्गत वैशाख महिनामा १८७ जना पक्राउ परेका छन् । सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक वटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियानअन्तर्गत वैशाख महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल १० वर्ष दुई महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी छ । उनीहरूलाई अदालतबाट तोकिएको रु ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *