बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि भइरहेको वार्ता निष्कर्षविहीन बनेपछि तेहरानलाई कडा चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले ‘छिटो निर्णय लिनुपर्ने’ बताएका हुन् । ‘उनीहरूले तुरुन्त अघि बढ्नुपर्छ, नत्र उनीहरूसँग केही पनि बाँकी रहने छैन । समय अत्यन्त महत्वपूर्ण छ,’ उनले लेखेका छन् ।
उनको यो टिप्पणी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग हुने तय भएको वार्ताअघि आएको हो । यसैबीच, इरानी सञ्चारमाध्यमहरूले युद्ध अन्त्यका लागि तेहरानले अघि सारेका प्रस्तावमा अमेरिकाले कुनै ठोस सहुलियत नदिएको दाबी गरेका छन् । अर्ध–सरकारी समाचार संस्था मेहरका अनुसार वासिङ्टनको अडानका कारण वार्ता ‘गतिरोध’ मा पुगेको छ ।
यसअघि पनि ट्रम्पले सम्झौता नभए ‘सम्पूर्ण सभ्यता नै समाप्त हुन सक्ने’ चेतावनी दिएका थिए । उनले केही दिनअघि युद्धविराम ‘गम्भीर संकटमा’ रहेको टिप्पणीसमेत गरेका थिए ।
इरानका विदेश मन्त्रालयका प्रवक्ताले भने तेहरानका प्रस्तावलाई ‘जिम्मेवार’ र ‘उदार’ भन्दै बचाउ गरेका छन् ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले सबै मोर्चामा तत्काल युद्ध रोक्न, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा थप आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।
साथै, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र होर्मुज जलडमरूमध्यमाथि आफ्नो सार्वभौमिकता कायम रहने विषय पनि प्रस्तावमा समेटिएको बताइएको छ ।
उता, अमेरिकाले इरानले एउटा मात्र आणविक केन्द्र सञ्चालनमा राख्नुपर्ने तथा उच्च संवद्र्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने शर्त अघि सारेको इरानी समाचार संस्था फार्सले जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि चर्किएको युद्धपछि युद्धविराम कायम भए पनि तनाव पूर्ण रूपमा साम्य हुन सकेको छैन ।
इरानले विश्वको महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग होर्मुज जलडमरूमध्य नियन्त्रणमै राखेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक असर पारेको छ ।
