घोराही (दाङ) । यहाँको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउँछिन् । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनको अनुभव छ ।
कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनले बताइन् । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उनले भनिन् । हाल मासिक १४–१५ हजार रुपैयाँ कमाउने गरेको नको भनाइ छ ।
उनी जस्तै सोही स्थानका अर्का स्थानीय देवा चौधरी पनि गाउँघरमै रोजगारी प्राप्त गर्दा जीविका चलाउन सजिलो भएको बताउँछिन् । “घरमा पाँच जनाको परिवार छ, श्रीमान् घर बनाउने काम गर्नुहुन्छ, मैले कृषि फार्ममा काम गर्दै आएको छु, आम्दानी पनि राम्रै भइरहेको छ । जसले गर्दा आफ्नो कमाइले घरखर्च चल्ने र श्रीमान्को कमाइ भने बचत गर्दै आएका छौँ”, उनले भनिन् ।
पछिल्लो समय गाउँघरमै रोजगारी प्राप्त भएपछि उनी जस्तै धेरै कृषि क्षेत्रमा जोडिन थालेका छन् । घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी स्थानीयलाई रोजगारी दिलाइ रहेका छन् । उमेरले ३७ वर्ष पुगेका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आएका छन् ।
जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बनेका छन् नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् । जिसीले सात वर्ष अघिदेखि सञ्चालन गर्दै आएका फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्नेलगायतका काम पाइने भएपछि स्थानीयलाई पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था छैन । विद्यार्थीसमेत कलेज पढ्दै कमाउँदै गर्न पाएका छन् ।
सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरेको जिसीको तरकारीखेती अहिले १४ बिघामा फैलिएको छ । आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसी कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च गर्छन् ।
जिसीले कृषि फार्ममार्फत सिजनअनुसार टमाटर, बोडी, काँक्रा, कोभीलगायतका तरकारी उत्पादन गर्छन् । उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालन गरेका छन् । सानैदेखि तरकारीखेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारीखेतीमा लागेको भन्दै जिसीले भने , “तरकारीखेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु । जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ ।”
उहाँले आजभोलि काँक्रा फार्मबाटै १७ रुपैयाँ र टमाटर २८ रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्दै आएका छन् । उनले उत्पादन गर्नुभएको तरकारी दाङ जिल्लासहित जिल्ला बाहिर बुटवल, कोहलपुर नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरिएको छ ।
