रुबी खानको ज्यान बचाउन किन मौन छ रास्वपा ?

-डा. जीवन क्षेत्री ।

माननीय खगेन्द्र सुनारज्यू, केही दिन अगाडि तपाईँले संसदमा छाती पिट्दै भन्नुभएको थियो, यो सरकार देशका असली भूमिहीनहरुलाई छानेर लालपुर्जा बाँड्ने संघारमा छ । २०१५ सालदेखिका कुरा ल्याएर तपाईँले काँग्रेस–एमालेलाई लल्कार्दै हुनुहुन्थ्यो । अहिले तपाईँकै जिल्लामा करोडौंको जमिन हत्याउन वंशै नाश गरिएकी निर्मला कुर्मीको न्यायका लागि तपाईँकै साथी रुबी खान संघर्षमा हुनुहुन्छ । उहाँको होस हराउँदै गएको छ र कुनै पनि बेला ज्यान जान सक्छ ।

खगेन्द्रज्यू, भूमिहीनलाई जमिन त दिनु होला । तर जसले महलु कर्मीको मृत्युपछि उनका दुई छोराको हत्या गरेको आरोप छ, जसले निर्मला कुर्मीको अपहरण र हत्या गरेर करोडौंको सम्पत्ति हडपेका छन्, ती न्यायको कठघरामा उभिनु पर्छ कि पर्दैन ?
निर्मला कुर्मीका हत्याराहरुले जानेरै तपाईँमाथि लगानी गरेका हुन् । त्यसैले कुनै बेला सँगै न्यायका लागि लड्ने साथी आज मृत्युको मुखमा पुग्दा तपाईँ फोन उठाउनुहुन्न । दुई शब्द यो मुद्दामा बोल्नु हुन्न ।

तपाईँको पार्टीका सभापति र प्रधानमन्त्रीका पिए त के उनीहरु वरिपरिको पाँचौं घेराका मानिसले पनि फोन उठाउँदैनन् । रास्वपाका बाँके अध्यक्षको समेत फोन उठाउँदैनन् किनकी यो मुद्दा उठ्छ भन्ने थाहा छ । कसको लगानीमा कुन उम्मेदवारले चुनाव जितेको छ भन्ने पनि थाहा छ । नुन खाइसकेपछि नुनको सोझो गर्नुपर्छ भन्ने पनि थाहा छ ।

मैले यो कुरा कल्पना गर्नसम्म सक्दिनथें एक घण्टा अगाडिसम्म । तर भर्खर महिला अधिकार मञ्च बाँकेका साथीहरुबाट यो कुरा सुन्दा म छाँगाबाट खसेजस्तै भएँ । राष्ट्रिय स्वतन्त्र पार्टीसित अनेक मतभेदका बाबजुद पनि मेरो जति आशा र भरोसा थियो, त्यो अब धुलिसात् भएको छ ।

हामी बादशाह कुर्मीलाई प्रदेशमा सांसद र मन्त्री बनाएको भनेर देउवासित रिसाइरहेका थियौं । उनले त अब रवि र बालेनको पार्टीमा लगानी गरेर रास्वपालाई आफ्नो बनाउन भ्याइसकेछन् । अझैं विवेक र जिब्रो नबेचिसकेका रास्वपाका साथीहरु कोही हुनुहुन्छ भने कृपया बोल्नुस् र ढिलो नहुँदै नेतृत्वलाई घच्घच्याउनोस् ।

सत्ताका लागि निहत्था नागरिकहरुको रगतको सौदावाजीका लागि जनताले तपाईँहरुलाई मत दिएका थिएनन् । देशले अर्को ओली र देउवा चाहिएकाले रवि र बालेनलाई सत्तामा पठाएको हैन । बादशाह कुर्मीहरुले करोडौंले सबैको मुख थुन्दै देशको न्यायप्रणाली किनुन् भनेर पनि जनताले मत हालेका थिएनन् । समय धेरै नै घर्किसकेको छ । सरकारको पारा यही हुने हो भने एक दुई दिनमा रुबी खानको ज्यान पनि गइसकेको हुनेछ । र खगेन्द्र सुनारहरुलाई सत्ताको सुखभोग गर्नमा कुनै अवरोध हुने छैन । निर्मला कुर्मी र सुखरानी चमारको ज्यान देउवा र ओलीहरुले लिए । रुबी खानको ज्यान लिन बालेन्द्र, रवि र खगेन्द्रहरु तयार छन् । तपाईँ जो यसलाई पढ्दै हुनुहुन्छ, के हामी बाँकी नागरिकको पनि जिब्रो थुतिएकै हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *