अडानी अमेरिकी जरिवानामा सहमत

नयाँदिल्ली । भारतीय अर्बपति उद्योगपति गौतम अडानीले अमेरिकामा लगाइएको भ्रष्टाचारसम्बन्धी दीवानी मुद्दा समाधान गर्न करोडौँ डलर जरिवाना तिर्न सहमति जनाएका छन् । अमेरिकी अदालतमा चलिरहेको बहुचर्चित मुद्दामा दोष स्वीकार नगरी गरिएको यो सहमतिलाई अडानी समूहमाथि लामो समयदेखि लाग्दै आएका वित्तीय तथा कानूनी विवादहरूको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

न्युयोर्कमा सन् २०२४ को नोभेम्बरमा दर्ता गरिएको अभियोगमा अडानी र उनका केही निकट सहयोगीमाथि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई जानाजानी भ्रममा पारेको आरोप लगाइएको थियो । अमेरिकी अभियोजकहरूले ठूलो परिमाणको घुसखोरी योजनामार्फत सौर्य ऊर्जा आपूर्ति सम्झौता हासिल गर्न भारतीय अधिकारीहरूलाई प्रभावित पार्ने प्रयास गरिएको दाबी गरेका थिए ।

अभियोगअनुसार अडानीमाथि करिब २५ करोड अमेरिकी डलर बराबरको घुस योजनामा संलग्न रहेको आरोप थियो । उक्त योजनामार्फत आकर्षक ऊर्जा सम्झौता सुरक्षित गर्न खोजिएको अमेरिकी पक्षको दाबी थियो ।

अडानी ग्रीन एनर्जीले मुम्बई स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार गौतम अडानी र उनका भतिजा सागर अडानीले संयुक्त रूपमा एक करोड ८० लाख अमेरिकी डलर बराबरको ‘नागरिक जरिवाना’ तिर्न सहमति जनाएका छन् । कम्पनीले यो सहमति ‘आरोप स्वीकार वा अस्वीकार नगरी’ भएको स्पष्ट पारेको छ ।

पत्रमा अडानी ग्रीन एनर्जी स्वयं यो मुद्दाको प्रत्यक्ष पक्ष नभएको र कम्पनीविरुद्ध कुनै औपचारिक आरोप नलगाइएको पनि उल्लेख गरिएको छ । साथै अमेरिकी अदालतको अन्तिम आदेश आउन बाँकी रहेको जानकारी दिइएको छ ।

यसैबीच अमेरिकी अभियोजकहरूले अडानीविरुद्ध लगाइएका केही आरोपहरू फिर्ता लिने तयारी गरेको समाचार द न्युयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको थियो । उक्त रिपोर्टअनुसार अडानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलमध्ये एक रोबर्ट गिफ्राको नेतृत्वमा नयाँ कानूनी टोली नियुक्त गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो ।

गौतम अडानी पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय व्यापार जगतमा लगातार चर्चामा रहँदै आएका छन् । कोइला, बन्दरगाह, विमानस्थल, सिमेन्ट, ऊर्जा र सञ्चारमाध्यमसम्म फैलिएको अडानी समूहको व्यापारिक विस्तारले उनलाई भारतकै शक्तिशाली उद्योगपतिमध्ये एक बनाएको छ ।

तर सोही अवधिमा समूहमाथि कर्पोरेट पारदर्शिता, सेयर कारोबार र वित्तीय अनियमिततासम्बन्धी आरोपहरू पनि लाग्दै आएका छन् । केही अन्तर्राष्ट्रिय अनुसन्धान प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरूको सेयर बजारमा तीव्र गिरावट आएको थियो, जसले विश्वव्यापी लगानीकर्तामाझ ठूलो चासो र बहस उत्पन्न गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहेको चर्चा हुने अडानीको जन्म गुजरात राज्यको अहमदाबादमा मध्यमवर्गीय परिवारमा भएको थियो । आर्थिक सङ्घर्षबीच हुर्किएका उनले १६ वर्षको उमेरमै विद्यालय छोडेका थिए ।

पछि रोजगारीको खोजीमा उनी भारतको आर्थिक केन्द्र मुम्बई पुगेका थिए। मुम्बईमा उनले सुरुमा रत्न तथा हिरा व्यापार क्षेत्रमा काम गरेका थिए । त्यसपछि आफ्ना दाजुको प्लास्टिक व्यवसायमा केही समय संलग्न भएर उनले व्यापारिक अनुभव हासिल गरे ।

सन् १९८८ मा उनले निर्यात व्यापारबाट आफ्नो व्यवसायिक यात्रा औपचारिक रूपमा सुरु गरेका थिए । त्यही व्यवसाय विस्तार हुँदै पछि अडानी समूहका रूपमा विकसित भयो ।

उनको व्यापारिक जीवनमा निर्णायक मोड सन् १९९५ मा आयो । त्यसबेला उनको समूहले गुजरातमा निजी क्षेत्रअन्तर्गत व्यावसायिक बन्दरगाह निर्माण तथा सञ्चालनको ठूलो सम्झौता प्राप्त गरेको थियो । त्यसपछि अडानी समूहले पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा तीव्र विस्तार गर्दै भारतको प्रमुख औद्योगिक समूहका रूपमा आफ्नो स्थान बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *