अख्तियार प्रमुखसहित दश उच्च अधिकारीको ज्यान लिने धम्की दिने पाठकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका दश जना उच्च अधिकारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पाठकलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

पाठकविरुद्ध आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

पाठकले इमेलबाट अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । पाठकले एक्ट्रिमिष्ट ग्रुप नेपाल नाम गरेको अवैधानिक संगठनको स्थापना गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा राईलाई ज्यान मार्ने धम्की दिएका अनुसन्धानबाट खुलेको थियो । प्रहरीले पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याएको थियो ।

प्रहरीले पाठकसहित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी र ताराप्रसाद खरेलविरुद्ध मुद्दा दर्ता गरेको थियो । अधिकारी भने थुनामै छन् । अदालतले फरारको हकमा म्याद जारी गर्न तथा डिल्लीबजार कारागारमा थुनामा रहेका अधिकारीको हकमा बयानका लागि झिकाई इजलासमा पेस गर्न आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *