ढाका । एक समय परिवार नियोजन कार्यक्रमका कारण अन्तर्राष्ट्रिय रूपमा प्रशंसा कमाएको बङ्गलादेश अहिले गम्भीर गर्भनिरोधक अभावको सङ्कटसँग जुधिरहेको छ । सरकारी स्तरको कमजोर योजना, खरिद प्रक्रियामा ढिलाइ र प्रशासनिक अव्यवस्थाका कारण देशका धेरै जिल्लामा आधारभूत गर्भनिरोधक सामग्री सकिन थालेपछि अनियोजित गर्भधारण बढ्ने चिन्ता तीव्र बनेको छ ।
दशकौँदेखि बङ्गलादेशलाई दक्षिण एसियामा सफल परिवार नियोजन कार्यक्रम सञ्चालन गर्ने राष्ट्रका रूपमा हेरिँदै आएको थियो । सरकारले हजारौँ स्वास्थ्यकर्मीलाई गाउँ–गाउँ र घर–घर पठाएर गर्भनिरोधक चक्की, कन्डम तथा जन्म अन्तरसम्बन्धी परामर्श उपलब्ध गराउने व्यवस्था गरेको थियो । यही कार्यक्रमका कारण तीव्र जनसङ्ख्या वृद्धिदर नियन्त्रणमा आएको मानिन्थ्यो ।
तर अहिले त्यही प्रणाली कमजोर बन्दै गएको छ । खरिद प्रक्रियामा विफलता, प्रशासनिक जटिलता र आपूर्ति व्यवस्थापनमा भएको ढिलाइका कारण देशका ६४ जिल्लामध्ये करिब एक तिहाइ जिल्लामा गर्भनिरोधक सामग्री सकिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
ढाकास्थित सावर उपजिला स्वास्थ्य कम्प्लेक्सका परिवार नियोजन अधिकारी अहमद बिन सुल्तानले पछिल्ला चारदेखि पाँच महिनादेखि कन्डम आपूर्ति रोकिएको जानकारी दिए । “हामी सेवा लिन आउनेहरूलाई निजी औषधि पसलबाट किन्न आग्रह गरिरहेका छौँ”, उनले भने ।
सावर क्षेत्रमा करिब एक लाख जनसङ्ख्याको जिम्मेवारी सम्हाल्दै आएका सुल्तानका अनुसार अधिकांश सेवा लिनेहरू गार्मेन्ट उद्योगमा कार्यरत श्रमिक परिवारका छन्, जसका लागि निजी बजारबाट नियमित रूपमा गर्भनिरोधक सामग्री खरिद गर्नु आर्थिक रूपमा सहज छैन ।
मे महिनाको सरकारी विवरणअनुसार कन्डम, मौखिक गर्भनिरोधक चक्की, आपतकालीन गर्भनिरोधक, इन्ट्रायुटेरिन उपकरण (आइयुडी) तथा इन्जेक्सनमार्फत प्रयोग हुने गर्भनिरोधक सामग्री धेरै जिल्लामा उपलब्ध छैनन् । अन्य क्षेत्रमा समेत मौज्दात तीव्र रूपमा घट्दै गएको छ ।
दुई सन्तानकी आमा २२ वर्षीया तमन्ना प्रत्येक महिना सावर स्वास्थ्य केन्द्र पुग्ने गर्छिन् । पहिले केन्द्रले एकैपटक तीनदेखि चार प्याकेट गर्भनिरोधक चक्की दिने गरे पनि अहिले सीमित मात्रामा उपलब्ध गराइने गरेको उहाँले बताउनुभयो । “हरेक महिना केन्द्र धाउनुपर्छ । काम गर्ने दिनमा समय निकाल्न पनि निकै कठिन हुन्छ”, घरेलु कामदार रहेकी तमन्नाले भनिन् ।
जनस्वास्थ्य विज्ञ बे–नाजिर अहमदले गर्भनिरोधक सङ्कट मात्र नभई खोप अभावजस्ता अन्य स्वास्थ्य समस्यासमेत बढ्दै गएको उल्लेख गर्दै यसलाई राज्यको खराब व्यवस्थापनको परिणाम बताए ।
उनका अनुसार हाल फैलिएको दादुरा प्रकोपका कारण मार्चको मध्यदेखि करिब ४०० बालबालिकाको मृत्यु भइसकेको छ ।
“दादुरा प्रकोप, रेबिज खोप अभाव र अहिलेको परिवार नियोजन सामग्री सङ्कट सबै व्यवस्थापन कमजोर भएको परिणाम हुन्”, अहमदले भने ।विशेषज्ञहरूले यो सङ्कटले बङ्गलादेशले दशकौँमा हासिल गरेको जनसङ्ख्या नियन्त्रणको उपलब्धि उल्टाउन सक्ने चेतावनी दिएका छन् ।
कुनै समय मुस्लिम बहुल समाजमा परिवार नियोजनलाई असहज विषयका रूपमा हेरिन्थ्यो । तर सन् १९७० को दशकदेखि सरकारी स्वास्थ्यकर्मीहरूले घर–घर पुगेर वैवाहिक स्वास्थ्य, जन्म अन्तर र गर्भनिरोधकका विकल्पबारे सचेतना फैलाउन थालेपछि ठूलो परिवर्तन आएको थियो ।
परिवार कल्याण अधिकारी तहमिनाले बङ्गलादेशमा परिवार नियोजन कुनै समय सामाजिक अभियानकै रूपमा अघि बढाइएको स्मरण गरे । “मैले सन् १९९२ मा काम सुरु गर्दा मानिसहरू लुकिछिपी चक्की र कन्डम लिन आउने गर्थे”, उनले भने ।
सन् १९७५ मा बङ्गलादेशमा प्रतिमहिला औसत ६.३ सन्तान जन्मिने दर रहेको थियो । ३० वर्षभित्र त्यो घटेर ३ मा झरेको थियो भने सन् २०२२ सम्म आइपुग्दा २.३ मा सीमित भएको थियो । तर संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार अहिले यो दर फेरि बढेर २.४ पुगेको छ ।
अधिकारीहरूले सन् २०२४ को राजनीतिक उथलपुथलपछि प्रशासनिक संरचना कमजोर बनेको र त्यसकै असर खरिद प्रक्रियामा परेको स्वीकार गरेका छन् ।
नाम नखुलाउने सर्तमा एक वरिष्ठ अधिकारीले सन् २०२४ मा गर्भनिरोधक सामग्री खरिद गर्न नसकिएको बताए । “हामीले सरकारलाई अभाव गम्भीर बन्दै गएको कुरा समयमै विश्वास दिलाउन सकेनौँ”, उनले भने ।
कोभिड–१९ महामारीका बेला परिवार नियोजन कार्यक्रम प्रभावित हुनु पनि अहिलेको सङ्कटको अर्को कारण मानिएको छ ।
ढाका विश्वविद्यालयका जनसङ्ख्या विज्ञान प्राध्यापक मोहम्मद बेलाल हुसेनले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा जनसङ्ख्या नीतिप्रति राजनीतिक चासो घट्दै गएको टिप्पणी गरे । “१७ वर्षको अवधिमा शेख हसिना एकपटक मात्र जनसङ्ख्या परिषद्को बैठकमा सहभागी हुनुभयो । त्यसपछि यो कार्यक्रमले आफ्नो गति गुमाएको महसुस हुन थाल्यो”, उनले भने ।
फेब्रुअरीमा नयाँ सरकार निर्वाचित भए पनि अभाव अझै हट्न सकेको छैन । धेरै स्वास्थ्य केन्द्र अहिले उपलब्ध भएका सीमित साधन प्रयोग गर्न दम्पतीलाई आग्रह गर्न बाध्य छन् ।यसबीच गर्भपतनसम्बन्धी चक्कीहरू बिना चिकित्सकीय सल्लाह सहजै बिक्री हुन थालेपछि स्वास्थ्य जोखिमसमेत बढेको बताइएको छ ।
मेरी स्टोप्स बङ्गलादेशकी कन्ट्री डाइरेक्टर किश्वर इमदादले असुरक्षित रूपमा औषधि प्रयोग गर्दा गर्भपतनपछिका जटिल समस्या भएका बिरामी अस्पतालमा आउने क्रम बढेको बताइन् ।
उनका अनुसार दुर्गम क्षेत्रमा सञ्चालित परिवार नियोजन कार्यक्रम सन् २०२४ मा सामग्री अभावकै कारण रोकिएको थियो र आपूर्ति प्रणाली अझै पूर्ण रूपमा पुनःस्थापित हुन सकेको छैन ।
बङ्गलादेश स्वास्थ्य मन्त्रालयका परिवार नियोजन निर्देशक मोहम्मद अब्दुल कलामले भने स्थिति सुधारतर्फ उन्मुख रहेको दाबी गरे । “हामीले मौखिक चक्की र कन्डमको नयाँ आपूर्ति सुनिश्चित गरिसकेका छौँ । ती सामग्री जुन महिनाभित्र स्वास्थ्य केन्द्रहरूमा पुग्न थाल्नेछन्”, उनले भने ।
यद्यपि आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझ केही समय लाग्ने उनले स्वीकार गरे । उनका अनुसार अगस्टसम्ममा अभाव अन्त्य गर्ने लक्ष्य राखिएको छ ।
