कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने बताएका छन् ।
मंगलबार प्रदेशसभा सदस्यहरूसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने उल्लेख गर्दै सबै दलबाट प्रतिनिधित्व हुने गरी बजेट सुझाव समिति गठन गर्न आग्रह गरे ।
मुख्यमन्त्री शाहले बजेट निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गर्दै ‘बजेट सुझाव समिति’ गठन गर्नुपर्नेमा जोड दिए।
उनले नेपाली काँग्रेस संसदीय दलको बैठकले सरकारलाई आवश्यक सुझाव दिन प्रमुख सचेतक विक्रमसिंह धामीको संयोजकत्वमा तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको पनि जानकारी दिए ।
मुख्यमन्त्री शाहले ऐतिहासिक महत्त्व बोकेका धार्मिक तथा पर्यटकीय स्थललाई विशेष प्राथमिकता दिइने भएकाले सोहीअनुसार योजना तर्जुमा गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टलाई निर्देशन दिए । यस्तै, ‘कोटेसन’ मार्फत कुनै पनि कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिँदा उनले त्यस्तो कार्यमा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन प्रमुख सचिव वैकुण्ठ अर्याललाई निर्देशन दिए ।
“प्रदेश सरकारले रु २५ लाखभन्दा कम लागतका योजनामा बजेट विनियोजन गर्ने छैन”, मुख्यमन्त्री शाहले भने, “प्रदेशका कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने छैनन् ।”
कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरूले प्रदेशको समग्र विकासका लागि साझा सङ्कल्पसहित अघि बढ्नुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनजस्ता प्राथमिक क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र दिगो विकास योजना लागू गर्नुपर्ने सुझाव दिएका थिए ।
